Logo

महाङ्काल मन्दिरमा टेका लगाइसकिएको छ, चाँडै पुनर्स्थापना हुनेछ — उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सवारी दुर्घटनामा क्षति पुगेको टुँडिखेल छेउको महाङ्काल मन्दिर निरीक्षण अवलोकन गर्नु भएको छ । गए राती ना. २ क ४० नं. को पानी बोक्ने ट्याङ्करको ठक्करबाट मन्दिरको नयाँ सडकतर्फको कुनामा क्षति पुगेको छ । उहाँसँगै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, कार्यपालिका सदस्य तथा वडाका जनप्रतिनिधि, सम्पदा तथा पर्यटन विभागका अधिकारी, पुरातत्व विभाग, गुठी सस्थानका प्रतिनिधि र स्थानीयका साथ सहभागी हुनुहुन्थ्यो

निरीक्षणका क्रममा उपप्रमुख डंगोलले मन्दिरका गुर्जु (पुजारी) उज्वल बज्राचार्यसहित स्थानीयबासीसँग घटनाका विषयमा सोधपुछ गर्नुभएको थियो । निरीक्षणमा सहभागी जनप्रतिनिधि तथा सदस्य र इञ्जिनियरहरुसँग छलफल गरेपछि उहाँले मन्दिरमा थप क्षति हुन नदिन तत्काल टेका लगाउन, पानीबाट बचाउन पालले छोप्न निर्देशन दिनुभयो ।

यसको पुनस्र्थापनाका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘यसलाई तत्काल पुनस्र्थापना गरेर थप क्षति हुन नदिनु अबको काम हो । पुरातत्व विभाग, गुठी संस्थान, सम्पदा क्षेत्रका विज्ञ, स्थानीय र सरोकारवालासँगको सुझाव र प्राविधिक अवस्थाका आधारमा मन्दिरमा क्षति पुगेको भागको पुनस्र्थापना गरिनेछ ।’

घटनाका विषयमा प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘दुर्घटना हुनु, क्षति हुनु दुवै सुखद खबर होइनन् । यद्यपि परेपछि यस्ता घटना व्यहोर्नुको विकल्प हुँदैन । तर, स्मरणीय कुरा चाहिँ के हो भने हाम्रा केही सावधानीले सम्भावित ठूला दुर्घटना र समस्याबाट बच्न सकिन्छ । महानगरले यस दिशामा सोच राख्नेछ ।’

निरीक्षणपछि उपप्रमुखको अध्यक्षतामा बसेको सरोकारवालाको बैठक बसेको थियो । सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यकाअनुसार मन्दिरको पुननिर्माणका लागि वडाले खर्च बताएको छ ।

प्रतिक्रिया दिनुहोस्