Logo

राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुमा अन्तरक्रिया सम्पन्न

काठमाडौं, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।


कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले अन्तरक्रियामा आएका सुझावहरूबाट समग्र सुरक्षा प्रणालीलाई अझ सशक्त बनाउन, सुरक्षा सम्बन्धी रणनीति निर्माण गर्न एवम् राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आन्तरिक एवम् बाह्य सुरक्षाका विषयहरूमा आवश्यक निर्णय लिन विशेष सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । अपराधको प्रवृत्ति फरक ढंगबाट परिमार्जित भइरहेको वर्तमान अवस्थामा त्यस्ता अपराधको सामना गर्न सोही अनुरूप सुरक्षा निकायहरूलाई तयार गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रहरीको क्षमता अभिवृद्धिका साथै संगठनलाई प्रविधियुक्त बनाउँदै थप सुदृढिकरण गर्दै जानुपर्ने उल्लेख गर्दै उहाँले सबै सरोकारवाला निकायबीच एकीकृत सूचना स्थापना गरी सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


कार्यक्रममा गृहसचिव दिनेश भट्टराईले अन्तरक्रियामा उठेका विषयवस्तुहरूमा आफ्नो धारणा व्यक्त गर्दै नेपाल प्रहरीले सीमित साधन स्रोत एवम् जनशक्तिको वावजूद अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । गृहसचिव भट्टराईले आउँदा दिनमा प्रहरी संगठनलाई अझै दक्ष, साधनस्रोत सम्पन्न, सुदृढ एवम् प्रविधियुक्त बनाउँदै लैजानेतर्फ गृह मन्त्रालय निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो । सबै सुरक्षा निकायबीच एकीकृत सूचनाको आदान प्रदान एवम् समन्वय भएमा राष्ट्रिय सुरक्षा प्रणालीमा थप प्रभावकारिता आउने विचार उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय सुरक्षाको सवालमा नेपालमा कानून कार्यान्वयन गर्ने प्रमुख सुरक्षा निकायको रूपमा नेपाल प्रहरीको पनि सशक्त भूमिका र योगदान रहेको चर्चा गर्दै उहाँले प्राथमिक र स्थायी दूरगामी राष्ट्रिय हितको पहिचान र सो प्राप्तिका लागि राष्ट्रिय सुरक्षामा क्रियाशील विविध पक्षहरूबीच साझा सोच र समझदारी अत्यावश्यक रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै राष्ट्रिय सुरक्षा सम्बन्धमा नेपाल प्रहरीको भूमिका, चुनौतिहरू, प्रहरी सांगठनिक संरचना, मानवस्रोत, स्रोत साधन व्यवस्थापन, अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्