Logo

झापा कारागारभित्रको तनावपूर्ण स्थिति डेढ घण्टापछि साम्य, प्रहरीले चलायो गोली

भद्रपुरस्थित झापा जिल्ला कारागारमा आन्दोलित बनेका कैदीबन्दी साम्य बनेका छन्। शुक्रबार करिब साढे २ बजेदेखि आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङसमेत गरेका थिए।

पुरुषतर्फका कैदीबन्दीहरु उत्तेजित बन्दै कारागारको पर्खाल र भवनको छतमा चढेर भाग्न खोज्दा प्रहरीले सात राउन्ड गोली र ५ राउन्ड टेयर ग्यास हवाई फाइरिङ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

कर्तव्य ज्यान मुद्दाका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा करिब १५ सय कैदीबन्दी उनको पक्षमा एकै पटक आन्दोलित बनेका थिए।

कैदीबन्दीहरू आन्दोलित बन्दा करिब डेढ घण्टा कारागारभित्र तनावपूर्ण स्थिति बनेको थियो। सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो सङ्ख्यामा कारागार बाहिर तैनाथ गरिएको थियो।

कैदीबन्दीहरूले झापा कारागार प्रशासन पक्षको निर्णयविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए। कारागारभित्र लगाइएको आगो भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, कमल लगायतको दमकले नियन्त्रणमा लिएको थियो।

कारागारभित्रको तनावपूर्णस्थिति डेढ घण्टापछि साम्य बनेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए। अवस्था साम्य बनेपछि कारागारका चौकीदार पक्षसँग वार्ता गरिएको बताउँदै प्रजिअ पोखरेलले भने, ‘तत्काल कैदी लावतीलाई सरुवा नगर्ने र कारागार विभागको निर्देशनअनुसार अगाडि बढ्ने सहमति भएको छ।’ कारागारभित्र कुनै ठूलो भौतिक तथा मानवीय क्षति नभएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्