Logo

राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमुल्य योगदान रहेको छ। उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमुल्य योगदान रहेको बताउनुभएको छ। “ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण” भन्ने मुल नारासहित काठमाडौंको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिंदै प्रमुख अतिथिका रूपमा उहाँले सो कुरा बताउनुभएको हो।

‘संघीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठुलो योगदान छ। ०४६ सालको आन्दोलन होस् कि ०६२/६३ को आन्दोलन, ज्यापु समुदायले आफुलाई अग्रणी र निर्णायक सावित गरेको छ।’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो। काठमाडौंको आन्दोलनमा आजका ज्यापु महागुठीका अध्यक्ष राजभाइ जकमीको घरमा बसेर कार्यक्रमहरू बनाईएको समेत उहाँले स्मरण गर्नुभयो।

तर ज्यापु र हरेक समुदायले चाहेजस्तै व्यवस्थासँगै जनताको जीवनस्तर परिवर्तनको चुनौती बाँकी रहेकोले वर्तमान सरकार समृद्धिको मुल प्राथमिकतासहित अगाडि बढेको उहाँले बताउनुभयो। ‘समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज, सरकार त्यही अभियानमा छ।’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो। भ्रष्टाचारीमाथिको कारबाही प्रक्रियाबाट पछाडि नहटिने र दलाल पुँजीका सट्टा राष्ट्रिय पुँजीको प्रवर्द्धन गरिने समेत उहाँले बताउनुभयो।


‘सामाजिक विविधता भित्रको एकतामा बिग्रह फैलाउने काम त भएको छैन ?’ यसनिम्ति सचेत हुदै अगाडि बढ्नुपर्ने र ज्यापु जस्तो किसान, श्रमिक र लोक संस्कृतिको संरक्षक समुदायले राष्ट्रको विकासमा अझै प्रभावकारी भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्