Logo

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका दीपेन्द्रलाई प्रहरी महानिरीक्षक कुँवरले दिए बधाई

काठमाडौं,१४ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत गत बुधबार भएको मंगोलियाविरुद्धको खेलमा बिष्फोटक ब्याटिङ गर्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले बधाई लिएका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै महानिरीक्षक कुँवरले नेपाल र नेपालीको शिर उँचो राख्न सफल भएको भन्दै बधाई दिएका हुन् । दीपेन्द्र नेपाल प्रहरीका जवानसमेत हुन् । उनी नेपाल प्रहरीको क्रिेट टिममा कप्तानी सम्हालिरहेका छन् ।

मंगोलियाविरुद्धको खेलमा दीपेन्द्रले बिष्फोटक ब्याटिङ गर्दै ९ बलमा अर्धशतक प्रहार गरेका थिए । उनले भारतका युवराज सिंहले १२ बलमा अर्धशतक प्रहार गरेर बनाएको विश्व कीर्तिमान भंगगर्दै नयाँ विश्व कीर्तिमान बनाएका हुन् । दीपेन्द्रको उत्कृष्ट प्रदर्शनसँगै नेपालले उक्त खेलमा मंगोलियालाई २७३ रनले हराएर अर्को विश्व कीर्तिमान रचेको थियो ।

‘नेपाल प्रहरीको तर्फबाट राष्ट्रिय पुरुष क्रिकेट टिममा रहेका नेपाल प्रहरीका ५ जना खेलाडीहरूमध्ये नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका प्रहरी जवान दिपेन्द्रसिंह ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा भएको मंगोलिया विरुद्धको खेलमा आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्नुका साथै ९ बलमा अर्ध शतक पुरा गरी विश्व रेकर्ड कायम गरेकोमा हार्दिक बधाई सहित समस्त खेलाडी महानुभावहरुमा सफलताको शुभकामना व्यक्त गर्दछौं ’। कुँवरले शुभकामनामा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्