Logo

भूकम्पले डडेल्धुराका आधा दर्जन बढी घरमा क्षति

डडेल्धुरा, असोज १७ । बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पले डडेल्धुराका आधा दर्जन बढी घरमा क्षति पुगेको छ। जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको एक, गन्यापधुरा गाउँपालिकाका दुई र नवदुर्गा गाउँपालिकाका चारवटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

गन्यापधुरा गाउँपालिका–३ का दुई घरमा आंशिक क्षति पुगेको खबर आएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए। उनका अनुसार घरको एक तर्फको पर्खाल भत्किएको छ। नवदुर्गा गाउँपालिका–३ का दुई वटा घर, वडा नम्बर ४ का पनि दुई वटा घरमा क्षति पुगेको खबर प्राप्त भएको डीएसपी कार्कीले बताए।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–७ ऐरी गाउँस्थित कोलगडामा एक घर भत्किएको छ। कोलगडामा पण्डित टिआर भट्टको घर भत्किएको छ। घर भत्किँदा अन्नपात र लुगाकपडा पुरिएको भट्टले जानकारी दिए।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो। त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्