Logo

प्रसाईंका कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेपछि महेशले भने: हिसाब किताब छिट्टै हुन्छ

काठमाडौं,२५ असोज । नेकपा एमालेका युवा नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत सहभागी भएको कार्यक्रमलाई पहिचानवादी र दुर्गा प्रसाईका कार्यकताले बिथोल्ने प्रयास गरेपछि बस्नेतले प्रसाईको अराजकताको हिसावकिताव चाँडै हुने बताएका छन् ।

बिहीबार झापाको अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा पहिचानवादीसँगै दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर एमाले कार्यकर्ताको एक दर्जन गाडी फुटाइएको थियो । आफ्ना नेता कार्यकर्ताको गाडी तोडफोड भएपछि आक्रक बनेका बस्नेतले पनि प्रसाईलाई चेतावनी दिँदै जनताले हिसाव किताव राख्ने बताएका छन् ।

‘झापा बाट कार्यक्रम भब्य ढंगले सम्पन्न गरेर काठमाण्डौ फर्कने क्रममा युवाहरु बाट बिदाई सम्पन्न भयो । कार्यक्रम सम्पन्न पस्चात अराजक दुर्गा प्रसाँईका पाखण्डीहरुले कथित पहिचानबादीको आडमा पार्किङ्ग गरिराखेको सर्वसाधारण र सहभागीहरुको गाडी तोड्फोड गरेर आफ्नो कायरता प्रदशन गरेकाछन । यस्को हिसाव किताब अबस्य हुनेछ ’। बस्नेतले लेखेका छन् ।

देश लुट्ने गिरोहको भण्डाफोर गर्ने भन्दै प्रसाईले गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । उक्त पत्रकार सम्मेलनमा एमाले निकट युवा संघका कार्यकर्ताले कालोमोसो दलेका थिए ।

कालोमोसो दल्ने युवा संघका कार्यकताले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद भन्दै नारा लगाएका थिए । उक्त घटनालगत्तै बस्नेतले प्रसाईलाई ठेगान लगाईदिएको अभिव्यक्ति दिएका थिए । यसरी आफूमाथि एमालेका कार्यकर्ताले मोसो दलेपछि प्रसाई एमालेविरुद्ध आक्रमक बनेका छन् ।बुधबार आफ्नै निवासमा पुनः पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेता महेश बस्नेतसहित सिंगो पार्टीविरुद्ध लड्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्