Logo

भूकम्प प्रभावित क्षेत्रका २ हजार परिवारका लागि काठमाडौँ महानगरपालिकाले पठायो राहत सामग्री

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जाजरकोट भूकम्पका प्रभावितहरुका लागि २ हजार थान ब्ल्याङ्केट पठाएको छ । यससँगै २ हजार घर परिवारका लागि खाद्यान्न राहत, औषधि तथा सफाइ सामग्री पठाउने तयारी गरेको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको हो भने राहतका प्याकेट स्थल मार्गबाट पठाउने तयारी गरेको छ ।

राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ ।


प्रभावित क्षेत्रमा खाद्यान्नमा ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल राखिएको छ । विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौत्तमले भन्नुभयो, ‘सरसफाइ तथा औषधिजन्य सामग्रीमा ५०० एमएलको सेनिटाइजर, २ वटा हात धुने साबुन, एउटा पानी शुद्धिकरण गर्ने प्युरिफायर झोल, १० वटा भएको १ प्याकेट सेनिटरी प्याड, ५ प्याकेट जीवन जल, २ फाइल सिटामोल र फोहोर राख्ने १० वटा भएको प्लाष्टिकको ठूलो थैलो १ प्याकेट पठाउने तयारी गरिएको छ ।’

कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएको ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । नेपाल प्रहरीका अनुसार त्यस भूकम्पबाट ९ सय बढी भवन पूर्ण क्षति भएका छन् भने २ हजार ९ सय भवनमा आंशिक क्षति भएको छ । १५३ भन्दा धेरैको मृत्यु भएको छ । २५० भन्दा धेरै घाइते भएका छन् । उपचारपछि १५० भन्दा धेरै व्यक्ति घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्