Logo

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका सेक्रेटरी छुङछेङबीच भेटवार्ता

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको प्रतिनिधि मण्डलबीच आज गृह मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ।

भेटमा सेक्रेटरी छुङछेङले नेपालका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा उहाँ र चिनियाँ राष्ट्रपति सि जीन पीङबीच भएको सहमति-सम्झौताको कार्यान्वयन पक्षनै आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र राजनीतिक दलका नेता र पदाधिकारीसँगको आफ्नो भेट उपलब्धिमुलक रहेको उहाँले बताउनुभयो। नेपालको सार्वभौम स्वतन्त्र नीतिको चीनले सधैं प्रशंसा गरेको तथा नेपालले एक चीन नीति र तिब्बत पक्षमा देखाएको दृढता अविचलित रहेकोमा उहाँले खुशी गर्नुभयो।

चीनले नेपालको हरेक समस्यामा साथ दिने, अहिलेको भुकम्पमा पनि पहिलो चरणको सहयोग गरिएको र थप सहयोग गरिने छुङछेङले बताउनुभयो। कोभिडको कारणले केही समय सीमामा समस्या भएपनि हाल पुराना सबै नाका खुलिसकेको, नेपाल र चीनबीचको व्यापार तथा पारवहन सुचारु भैसकेको तथा केही नयाँ नाकाहरू पनि खुलिसकेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो। प्रशासन सुधारका लागि नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २० मिलियन चिनियाँ रुपैयाँ(आरएमबी) सहयोग गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी समेत उहाँले दिनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तर, तीनैतहमा उत्तिकै ऐतिहासिक एवम् हार्दिक सम्बन्ध रहेको बताउनुभयो।नेपालको विपद तथा विकासमा चीनको सहयोग अमुल्य रहेको समेत उहाँले बताउनुभयो। भुकम्पमा, कोभिडमा र हाल पनि चीनले गरेको सहयोग अविस्मरणीय रहेकोले यसप्रति उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। चिनियाँ राष्ट्रपति सि जीन पीङको नेतृत्वमा अगाडि बढेको बीआरआई परियोजनालाई नेपालले आत्मसात गरिसकेको र यसमार्फत कमजोर अर्थतन्त्र भएका मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने चीनको नीतिको उहाँले सराहना गर्नुभयो। यसका लागि पूर्वाधारको कामलाई प्रभावकारी र व्यापक रुपमा अगाडि बढाउने गृहकार्य पनि सफल भैछाड्ने विश्वास उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो।

नेपालको सीमा मामिला संघीय सरकारले हेर्ने र चीनको सीमा मामिला त्याहाँको केन्द्रीय, प्रान्तीय र इकाई तीनै सरकारले हेर्ने कारणले कहिलेकाही द्वीपक्षीय सरोकारका समस्या आउदा गरिनुपर्ने समन्वयलाई व्यहारिक बनाईनुपर्ने छलफल समेत भेटवार्तामा भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको चीनले गरिबी निवारण र भौतिक विकासमा गरेको असाधारण प्रगतिबाट नेपालले पनि सिक्न चाहेको बताउनुभयो। नेपाल र चीनबीच थप हवाई उडानहरू विस्तार गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

बीआरआई सम्मेलनका क्रममा चीनमा आकस्मिक बिरामी पर्दा चिनियाँ सरकार र चिकित्सक एवम् स्वास्थ्यकर्मीले उपचारमा देखाएको तदारुकताबाट आफु धेरै नै प्रभावित भएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो। सेक्रेटरी छुङछेङले त्यो आफुहरूको दायित्व तथा कर्तव्य भएको र गम्भीर रोगलाई सामना गर्नसकेको एक ‘लक्की’ नेतासँग यसरी भेट हुँदा आफुहरूमा खुशीको सीमा नरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्