Logo

महिना दिनमै बन्द भएको द्रुत बस सेवा आजदेखि पुनः सुरु हुँदै

काठमाडौं, मंसिर १० । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ। त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ। संविधान दिवसको अबसर पारेर असोज ३ गते भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको द्रुत बस सेवा एक महिना मै बन्द भएको थियो । द्रुत बस भनिए पनि सोही बस ट्राफिक जाममा पर्दा समयमै यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे परेपछि द्रुत बस सेवा गुड्नेभन्दा कुर्ने समय बढी भएको भन्दै आलोचनासमेत भएको थियो ।

अहिले पुनः यस सेवाका लागि ११ वटा बस थपिएको यातायात व्यवस्था विभागले जनाएको छ। रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ। द्रुत बस सेवा सञ्चालनपछि सो दूरीको यात्रा करिब ४५ मिनेटको हुनेछ।

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ। त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ। द्रुत बस सञ्चालनका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको छ । तर सडकमा लगाइएको रङ महिना दिन नपुग्दै मेटिई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्