Logo

काठमाण्डौ जिल्ला अदालत अगाडि आधुनिक जेब्राक्रसिङ, अव बटुवाले आफैँले बटन थिचेर बाटो पार गर्न सक्ने

काठमाडौं, मंसिर ११ । काठमाण्डौको बबरमहलमा बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक शैली सञ्चालनमा आएको छ । बटुवाले आफैँ बटन थिचेर रातो बत्ती बाल्ने, अनि बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम आजदेखि सञ्चालनमा आएको हो ।

काठमाण्डौ जिल्ला अदालत अगाडि रहेको जेब्राक्रसको छेउमा रहेको पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ ।

रातो बत्ती बलेपछि गाडी रोकिन्छन् र यात्रुले बाटो पार गर्न सक्छन् । यात्रुको चापअनुसार समयको सेटिङमा केही फेरबदल गर्न सकिने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । ट्राफिक प्रहरीले जथाभाबी बटन नथिच्न र सकेसम्म ८–१० जना यात्रु जम्मा भइसकेपछि मात्रै बटन थिचेर सडक पार गर्न अनुरोध गरेको छ ।

बबरमहलबाहेकका अरु ठाउँमा पनि यस प्रकारको ट्राफिक बत्ती जडानको तयारी भइरहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको सङ्ख्या बढी हुने ठाउँमा यस प्रकारको बत्ती राखिनेछ ।

महानगरले ३७ ठाउँमा बत्ती जडान गर्न लागेको हो । सरकारी २४ र निजी विद्यालय अगाडि १२ बत्ती जडान गर्न लागिएको काठ्माण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सन्तोष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्