Logo

चीनसँगको सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाउँछौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यस पटकको प्रधानमन्त्रीत्वकालमा नेपाल–चीन अन्तरदेशीय र व्यापारिक नाकाहरु व्यवस्थित गर्ने रहेको बताएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्रीले आगामी दिनमा थप कुटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाउनुपर्ने बताए ।

उनले आफ्नो चीन भ्रमणपछि तातोपानीलगायतका उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए । प्रधानमन्त्रीले थप कुटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्धन व्यवस्थित गर्नुपर्नेमा आफू सचेत रहेको बताए ।

उनले आफ्नो चीन भ्रमणका क्रममा नेपाल–चीनको संयुक्त प्रयासबाट सीमा क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको उल्लेख गरे । नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल गरेको भन्दै प्रधानमन्त्रीले यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘मेरो भ्रमणका क्रममा चीन सरकारसँग नेपाल र चीन सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण, सन् १९८१ को नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समझदारीमा हस्ताक्षर, हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता लगायतका दर्जनौं विषयमा सम्झौता भएका छन्, जसले सीमापार व्यापार प्रवर्धनका क्षेत्रमा समेत गुणात्मक अर्थ राख्दछन् ।’

प्रधानमन्त्रीले केही दिनअघि चिनियाँ राजदूतसँग पनि आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताए । उनले राजदूतसँग पम्परागत नाकाहरु खोल्ने, टोखा—छहरे सुरुङ मार्गको डिपिआर तयार गर्ने र हिल्सा—सिमकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्