Logo

कप्तान रोहित अलराउण्डर लगातार प्लेयर अफ द म्याच

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार प्लेयर अफ द म्याच चुनिएका छन् ।

शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गर्दा रोहितले दुवै ब्याटिङ र बलिङमा प्रभावशाली प्रदर्शन गरे । कप्तान रोहितले अवार्डसँगै १५ हजार रुपैयाँ प्राप्त गरे ।

क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा रोहितले सर्वाधिक ८७ रनको योगदान दिएका थिए । १ सय १ बलमा ८ चौका र ४ छक्का जोडेका उनी पाँचौ विकेटको रुपमा आउट भएका थिए । विपक्षी कप्तान साद बिन जफरको बलमा एज लागेपछि उनी कट बिहाइन्ड भएका थिए ।

रोहितले देव खनालसँग तेस्रो विकेटका लागि कीर्तिमानी १ सय ५० रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए ।


त्यसअघि बलिङमा पनि रोहितले राम्रो प्रदर्शन गरे । ८ ओभरमा ३२ रन दिएर उनले २ महत्त्वपूर्ण विकेट लिएका थिए । रोहितले मध्यक्रमका ब्याटर पर्गत सिंह र निकोलस किर्तनको विकेट लिएका थिए ।

रोहित त्यसअघि पहिलो खेलमा पनि प्लेयर अफ द म्याच चुनिएका थिए । उक्त खेलमा उनले २२ रन खर्चर ४ विकेट लिँदै नेपाललाई जिततर्फ अघि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्