Logo

सोलुखुम्बुमा पत्रकार कुट्ने ५ जना पक्राउ

सोलुखुम्बु, १ फागुन । सोलुखुम्बुमा पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मङ्गल तामाङ, २८ वर्षीय लक्ष्मण तामाङ र ३२ वर्षीय सुब्बा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुधकोशी खबरका रमन वनमाथि गत शनिबार राति सल्लेरीस्थित निजको कोठा पुगेर हातपात गरेको आरोपमा उनीहरुलाई आज सल्लेरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार मिश्रले जानकारी दिए ।

सञ्चार माध्यममा भिडियो सामग्री प्रसारण गरेकै कारण आफूमाथि हातपात गरेको पत्रकार वनले बताए । सोलुदुधकुण्ड–५ का वडाध्यक्ष मिङमार तामाङसहित राति आफ्नो कोठामा पुगेका व्यक्तिहरूले आक्रमण गरी भिडियो मेटाउन धम्की दिँदै आफूलाई कुटपिट गरेको उनको भनाइ छ ।

सो घटनापछि हातपात गर्ने विरुद्ध पत्रकार वनले अभद्र व्यवहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । तामाङ समुदायको ल्होछार पर्व मनाउने क्रममा शनिबार सल्लेरीस्थित एक होटलमा स्थानीय युवा मदिरा सेवन गरेर झगडा गरेका थिए । उक्त झगडाको भिडियो दुधकोशी खबरले सम्प्रेषण गरेको थियो ।

यसैबीच, वडाध्यक्ष मिङ्मार तामाङले पनि अनुसन्धान प्रक्रियामा सहयोग गर्ने बताएका छन् “सुरुमा वडाध्यक्ष तामाङले पनि पत्रकार वनमाथि हातपात गरेको आरोप लागेको थियो । वडाध्यक्ष तामाङले आफूले हातपात गरेको नभई सहजीकरणका लागि घटनास्थल पुगेकाले प्रहरीलाई बताएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ”, प्रहरी निरीक्षक मिश्रले भने ।

प्रतिक्रिया दिनुहोस्