Logo

भिम उपाध्यायले मुख खोले, भने- ‘मुद्दामा रौँ बराबरको पनि दम छैन, स्वदेश फर्कनासाथ अदालतमा सफाईका लागि उपस्थित हुन्छु’

काठमाडौं, फागुन ७ । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको भन्दै विशेष अदातलमा मुद्दा परेपछि पूर्वसचिव भीम उपाध्यायले मुख खोलेका छन् । हाल अमेरिकामा रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै आफ्नो हकमा उक्त मुद्दामा रौँ बराबरको पनि दम नभएको बताएका छन् ।

उनले आफू ०७३ कार्तिक देखि ०७४ भदौ १२ गतेसम्म खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको भन्दै त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष भएको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘म तीन करोड नेपालीका सामू ढुक्क संग भन्छु, मबाट देशहितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुँदैन त्यो पनि काकाकूल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रूपैया कुनै बेला दिएको छन् भने भनून्। मिटिंगमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन । म रिटायर भएको नै अहिले ६ वर्ष बितिसकेको छ।’

आफूले डेढ वर्ष अघि अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको जानकारी गराउँदै उनले यो मुद्दा दायर गर्न पर्ने बिषय नै नभएको दाबी गरेका छन् । प्रोजेक्ट फिनान्सियल एवं टेक्निकल म्यानेजमेन्टको ईस्युमा अख्तियारले आफ्नो ब्याख्यात्मक अधिकार प्रयोगगरेर मुद्दा दायर गरेकाले मुद्दामा रत्ति दम नभएको उनको भनाई छ । साथै उनले स्वदेश फर्कनासाथ अदालतमा सफाईका लागि उपस्थित हुने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा आइतबार तीन पूर्व सचिवसहित १८ जनालाई मुद्दा दायर गरेको छ । तत्कालीन सचिव उपाध्यायलाई ४ करोड २२ लाख ३४ हजार रुपैंया बिगो दाबि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्