Logo

रिपोर्टर्स क्लब नेपाल आजदेखि २६ औं वर्षमा प्रवेश

काठमाण्डौ, चैत १७ । देशभरिका पत्रकारहरुको सञ्जाल रिपोर्टर्स क्लब नेपालको २५ औं बर्ष पूरा गरी आजदेखि २६ औं वर्षमा प्रवेश गरेको छ ।

क्लबको बार्षिकोत्सवको अवसरमा आज सम्मान तथा पुरस्कार वितरण तथा स्मारिका विमोचनको कार्यक्रम राखिएको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो २ बजे हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यता रहने छ ।

स्थापना दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्ड र क्लबका सभापति ऋषि धमलाले विभिन्न बिधामा कलम चलाउने पत्रकारलाई पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । क्लबको उद्घाटन २०५४ साल चैत्र १७ गते नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले गरेका थिए ।

श्रमजिवी पत्रकारहरुको साझा संस्थाको रुपमा विकास भएको क्लबले मुलुकमा लोकतन्त्र ल्याउनको लागि, विधिको शासन, कानूनी राज्यमा मुलुकलाई अघि बढाउनको लागि पनि अहम भूमिका निर्वाह गरिसकेको छ । मुलुकमा तत्कालिन अवस्थामा विद्यमान दश वर्षे सशस्त्र द्धन्द्धको अन्त्य र शान्ति स्थापनाको लागि पनि क्लबले वार्ताको आह्वान गर्दै भूमिका खेलेका थियो ।

क्लबले राज्य र विद्रोही दुवै पक्षलाई वार्ताको लागि दबाब दिएको थियो । तपाईहरु अविलम्ब वार्तामा बस्नुहोस भनेर क्लबले झक्झकाएको थियो। विभिन्न तह र तप्काका व्यक्तिहरु, खासगरी दलका नेताहरुलाई एकै ठाउँमा राखेर क्लबले हजारौ बहस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्