Logo

बेलायतको मेनचेष्टरमा उपप्रमुख डंगोल– महिलाहरुको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आएँ

काठमाडौं– महिलाहरुको आत्मविश्वाश, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् । बेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वल्र्ड फेस्टिभल’ मा बोल्दै उनले, महिलाहरुलाई प्रतिकुल अवस्थाबाट माथि उकास्न निरन्तर प्रयास गरिरहेको बताइन् ।

त्यस क्रममा उनले सामाजिक मान्यताका आयामहरुमा चर्चा गर्दै नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताइन् । ‘यसबाट महिलाको अवस्थालाई सामाजिक तथा प्राकृतिक न्यायअनुकुल निर्माण गर्नमा योगदान पुग्नेछ,’ उनले भनिन् ।

सूचना र प्रविधिले रुपान्तरित हुँदै गरेको विश्व परिवेशमा लैङ्गिक समानता र समावेशीकरणका लागि रणनीतिक राष्ट्रिय अन्तरराष्ट्रिय सञ्जाल निर्माण हुने उनले विश्वास व्यक्त गरिन् ।

शनिवार उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल समेत गरेकी छिन् । ब्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएकी हुन् । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु भएको फेस्टिभल आज सकिंदैछ ।

स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक बर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्