Logo

न्युरोडमा पार्किङ हटाएको ठाउँलाई पैदल यात्रीमैत्री बनाउँदै काठमाडौं महानागरपालिका

काठमाडौं– विगतमा न्युरोड क्षेत्रमा सवारी पार्किङ् गर्ने गरिएको भागबाट पार्किङ् प्रयोजन हटाएपछि काठमाडौं महानगरपालिकाले सो भाग पैदल यात्रीको लागि उपलब्ध गराउने भएको छ । सडक पार्किङको भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जानकारी दिएको हो ।

काठमाडौंको भित्री सहरी क्षेत्रको व्यवस्थापन महानगरपालिका आफैँले गरिरहेको जनाएको छ । न्युरोड क्षेत्रको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो । पैदलयात्रीको सुरक्षाका लागि बार, ढलको व्यवस्थापन महानगरपालिका आफैले गर्दै आएको जनाएको छ ।

पूर्वाधार निर्माण र सहरी सुविधा वितरणका लागि यस अघि पनि काम गरिसकेको क्षेत्रमा अहिले पैदल मार्ग सुधार गर्ने योजनाअन्तर्गत काम हुन लागेको महानगरपालिकाका सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले बताए । उनले भने, ‘योजना कार्यान्वयन गर्ने सन्दर्भमा सडक विभागलाई डिजाइन सम्लग्न राखेर २०८० असोज ४ गते पत्राचार भइसकेको छ ।’

उनकाअनुसार पैदल मार्ग सुधार गर्दा आवागमन, व्यापार तथा स्थानीय सहजतालाई कुनै पनि असर गर्दैन । पैदल यात्रा धेरै हुने स्थानको ठाउँको जीवन्तता अझ थपिने उनको भनाइ छ । शाक्यले असन बजारको उदाहरण दिँदै भने, ‘पैदल मार्गको स्वरुपमा भएकोले न्युरोडमा भन्दा असनमा मानिसहरु बढी जान्छन् । धेरै सामान खरिद गर्छन् ।’

न्यूरोड क्षेत्रमा पैदल मार्ग सुधारको कुरा गर्दै उनले भने, ‘पहिले पार्किङ् हुन्थ्यो, अब पैदलयात्री हिँड्छन् । सवारी साधनका लागि टु वे सडक हुन्छ । दमकल, एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारी साधन सञ्चालनमा कुनै अवरोध हुँदैन । यत्ति मात्र हो कि यस क्षेत्र निजी सवारी साधन रोकेर राख्न पाइँदैन । सुरुसुरु गन्तव्यमा जानुपर्छ ।’

चालु आर्थिक बर्षको बजेटबाट यो काम प्रारम्भ भएको हो । यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) २०८० सालको असोज २१ गते स्वीकृत भएको हो । यसका आधारमा २०८० मंसिर ८ गते बोलपत्र आव्हान भएको थियो । यसका लागि ७ वटा निर्माण कम्पनीले भाग लिएका थिए । करिब ३ करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको कामका लागि करिब २ करोड ५६ लाख रुपैयाँ (२०.११%) घटी रकममा काम सम्पन्न गर्न प्रस्ताव गर्ने आरोग्य साइटेक जेभीलाई मूल्याङ्कन समितिले २०८१ वैशाख ६ गते छनोट गरेको महानगरले जनाएको छ ।

योजनाअनुसार वडा नं. २२, २३ र २४ मा पर्ने नयाँ सडक, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका पैदल मार्ग फराकिला हुनेछन् । विभागकाअनुसार योजना स्वीकृत तथा कार्यान्वयन गर्ने सन्दर्भमा वडा कार्यालयहरु र सडक विभागलाई आवश्यक सहजीकरण र समन्वयका लागि यस अघि नै पत्र पठाइसकिएको छ ।

योजनाअन्तर्गत सडकका किनारालाई हरियाली बनाउनुका साथै ठाउँ ठाउँमा ज्येष्ठ नागरिकलाई आराम गर्ने स्थल बनाइने विभाग प्रमुख शाक्यले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्