Logo

नयाँ सडकलाई साघुँरो बनाउन लागेको भन्दै विरोधमा उत्रिए न्युरोडका स्थानीय

काठमाडौं – काठमाडौं महानगरपालिकाले न्युरोड साघुँरो बनाउन लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । न्युरोड क्षेत्रका स्थानीयले सोमबार नयाँ सडक बचाउ, न्युरोड साँघुरो गर्न पाइँदैन भन्दै प्रदर्शन गरेको हुन् ।

काठमाडौं महानगरपालिकाले यस अघि नै न्युरोड क्षेत्रको पार्किङ हटाइसकेको छ । पार्किङ हटाएको स्थानमा फुटपाथ बढाएर न्युरोडलाई पैदलयात्रीमैत्री बनाउने योजनासहित काठमाडौँ महानगरपालिकाले काम सुरु गरेको छ ।

यसको विरोधमा स्थानीयले न्युरोड गेटबाट जुद्ध शालिकसम्म दायाँबायाँ उभिएर महानगरले निर्माण गर्न लागिएको फुटपाथको चौडाइको आकार बनाएका छन् । स्थानीय दायाँबायाँ उभिएको बीच भागमात्र अब सडक बन्ने र त्यसउता फुटपाथ बनाउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरपालिकाल न्युरोड, धर्मपथ, शुक्रपथ, खिचापोखरीसहितका सडक खण्डका फुटपाथ बढाउन लागेको हो । यसका लागि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा बजेट छुट्याएको छ ।

न्युरोडलाई साँघुरो बनाइ फुटपाथको आकार बढाउन २०८० असोज २१ गते नै डिपिआर स्विकृत भइसकेको महानगरपालिकाले जनाएको छ ।
इोजना सञ्चालनका लागि डिपिआरको आधारमा २०८० मंसिर ८ मा बोलपत्र आह्वान गरेको थियो । जसमा सात कम्पनीको बोलपत्र परेको थियो ।

करिब २ करोड ५६ लाख रुपैयाँमा काम सम्पन्न गर्नेगरि महानगरले आरोग्य साइटेक जेभीलाई २०८१ वैशाख ६ गते छनोट गरेको सकेको छ । कम्पनीले काम सुरु गर्ने क्रममा स्थानीयले न्युरोड साँघुरो गर्न पाइँदैन भन्दै विरोध गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्