काठमाडौं– नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई १५ सदस्यीय स्क्वाडमा समावेश नै नगरिएको भन्दै भ्रम फैलाएको भन्दै त्यसको खण्डन गरेका छन् ।
क्रिकेटर सन्दीप लामिछानेले आइसिसी टि–२० विश्वकप खेल्न जान भिसा नपाएपछि क्यानको लापरबाहीले गर्दा भिसा अस्वीकार भएको भन्दै सामाजिक सञ्जालमार्फत टिकाटिपप्पणी हुन थालेपछि अध्यक्ष चन्दले त्यसको खण्डन गरेका हुन् ।
सन्दीपलाई १५ सदस्यीय स्क्वाडमा समावेश गरिएको जानकारी गराउँदै भिसाका लागि क्यान र आईसीसीले समेत दुतावासलाई पठाएको उनले बताएका छन् । अध्यक्ष चन्दले सन्दीप स्क्वाडमा रहेको जानकारी दिँदै भिसा दिन अनुरोधका साथ अमेरिकी दुतावासलाई पठाएको पत्रसमेत सार्वजनिक गरेका छन् ।
अध्यक्ष चन्दका अनुसार सन्दीपले उच्च अदालतबाट सफाइ पाए लगत्तै क्यानले आइसीसीसँग समन्वय गरेर उनलाई स्क्वाडमा समावेश गरेको थियो ।
सन्दीपले भिसा नपाएमा उनले प्रतिस्थापन गर्नसक्ने खेलाडीको मनोबल कमजोर हुनसक्ने भएकाले स्क्वाडको १४ जनाको नाम गोप्य राखिएको समेत उनले बताएका छन् । आइसिसीले विशेष परिस्थिति भएकाले सन्दीपले भिसा नपाएमा उनको सट्टामा खेलाडी परिवर्तन गर्नमिल्ने सुविधा नेपाललाई मात्र दिएको उनले जानकारी दिएका छन् ।
क्यानले सतर्कताका साथ गोप्य राख्नुपरेको विषयलाई प्रोपोगाण्डा बनाइ कमजोर रुपमा व्याख्या नगर्न समेत उनले अनुरोध गरेका छन् ।
प्रतिक्रिया