एउटा काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन केपि ओलीलाई बालेनको आग्रह


काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई एउटा काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन आग्रह गरे। उनले सोमबार सामाजिक सञ्जालमार्फत् गिरीबन्धु टी स्टेट १० हजार करोड को कान्ड लुकाउन महानगरको काममा विरोध गरेको बताएका हुन् ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं’ भनेर थम्थमाएको बालेनको ओरोप छ । उनले लेखेका छन्, ‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईँको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

उनले लेखेका छन्, ‘यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं ।’

बालेनले समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्न पनि अनुरोध गरेका छन्। साथै उनले साँच्चैको नयाँ कोही आइ फाइल पल्टाएर तपाईंलाई जेल हाल्ला भनेर व्यङ्ग्य पनि गरेका छन्।