बुधबारदेखि लुम्बिनी प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदै, ४१ स्टल राखिने


काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुुम्बिनी प्रदेशमा जेठ २३ र २४ गते ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (विआइसीसी) मा आयोजना हुने मेलाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले गर्नेछन् ।

पत्रकार सम्मेलनमा लुम्विनी प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ, बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो ।

लुम्बिनी प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला तयारी पूरा भएको र यस प्रदेशमा हुने मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीति रूपमा डिजाइन गरिएको सोमबार बुटवल उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ ।

लुम्बिनी प्रदेश मेला संयोजक एवम् उपसचिव लोकनाथ भुसालले रोजगार मेलाले रोजगार खोज्नेहरू, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर यस कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकुल वातावरण सिर्जना गर्ने जानकारी दिए । उनले मेलाबाट रोजगारी सिर्जना, युवा सशक्तिकरण र दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक–निजी साझेदारीलाई बढावा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेश श्रम रोजगार कार्यालयका प्रमुख कृष्ण खनालले मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्ने बताए । उनले मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन र यसले राष्ट्रलाई थप समृद्धि र सफलतातर्फ लैजान सक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज हुने बताए ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डयेले सबै सरोकारवालाहरूलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरे । साथै उनले श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपेको बताए ।

लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन गरिने पनि उनले जानकारी दिए । सो मेलामा ४१ स्टल राखिने जनाइएको छ ।

श्रमाधान रोजगार मेला जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै सुरु भएको मेला सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा दुई दिन सञ्चालन हुनेछ ।

कोशी प्रदेशमा १७ र १८ गते, मधेश प्रदेशमा १९ र २० गते र गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते मेला सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा २३ र २४ गते, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुँदैछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुँदै श्रमाधान मेला सम्पन्न हुनेछ ।