Logo

नेपालले विश्वकपको अन्तिम खेल बंगलादेशसँग खेल्दै, टेस्ट राष्ट्रलाई जीतेर नयाँ इतिहास रच्ने विश्वास

काठमाडौं– आइसिसी टि–२० विश्वकपको २०२४ मा नेपालले अन्तिम खेल खेल्दैछ । सोमबार बंगलादेशसँग खेलेसँगै नेपालको आइसिसी टि–२० विश्वकप २०२४ को यात्रा टुङ्गो लाग्नेछ ।

शनिबार दक्षिण अफ्रिकासँग झिनो अन्तरले हार व्यहोरेपछि नेपाल समुह चरणबाट बाहिरिएको हो । नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । टस जितेर बलिङ राजेको नेपालले ११६ रनको लक्ष्य पछ्याएको थियो । तर २० ओभरमा ११४ रन मात्र बनाउँदा नेपालले विश्वकपबाटै हात धुनुपरेको हाे ।

समुह चरणको पहिलो खेल नेपालले नेदरल्यान्डसँग खेलेको थियो । अमेरिकाको डालासमा भएको उक्त खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस्तै अमेरिकाकै फ्लोरिडामा तय भएको नेपाल र श्रीङ्काबिचको दोसो खेल भारी वर्षाका कारण रद्द भएको थियो । खेल रद्द हुँदा नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका थिए ।

अब, वेस्ड इन्डिजको सेन्ट भिन्सेटमा सोमबार हुने बङ्गलादेशविरुद्धको खेलमा नेपालले गुमाउनुपर्ने केही छैन । सोमबार बंगलादेशलाई जीतेमा नेपालले टेस्ट राष्ट्रलाई जीतेर नयाँ इतिहास रच्नेछ । खेल नेपाली समयअनुसार बिहान ५ः१५ मा सुरु हुँदै छ ।

नेपाल र बङ्गलादेशबिच यसअघि सन् २०१४ को टी–२० विश्वकपमा भेट भएको थियो । त्यतिबेला नेपाल आयोजक बङ्गलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

आइसिसी टि–२० को समूह ‘डी’ मा नेपाल र श्रीलंका समुह चरणबाट बाहिरिसकेका छन् । दुबै टोलीले तीन खेलबाट एक एक अंक जोडेका छन् । दक्षिण अफ्रिका भने चार खेलमा अविजित बन्दै सुपर ८ मा प्रवेश गरिसकेको छ । अब सुपर ८ मा बंगलादेश र नेदरल्यान्डसमध्ये एउटा राष्ट्र पुग्नेछ । बङ्गलादेशले तीन खेलबाट चार अङ्क जोडेको छ । नेदरल्यान्ड्सले तीन खेलबाट दुई अङ्क बनाएको छ ।

सोमबार नै नेपाली समयअनुसार ६ः१५ मा श्रीलंका र नेदरल्यान्ड्स भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्