Logo

श्री केश तेलको कारखानामा बालेनको एक्सन, तीन दिन कारखाना बन्द गर्न निर्देशन

काठमाडौं– श्री केश तेलको गुणस्तरीयतामा प्रश्न उठ्न र जनगुनासो बढ्न थालेपछि काठमाडौं महानगरपालिकाको टोली श्री केशको तेलको उत्पादक कम्पनी सप्त ऋषि आयुर्वेदमा पुगेको छ । काठमाडौं मध्ये बानेश्वरस्थित श्री केश तेलको कार्यालयमा आइतबार काठमाडौं महानगरपालिकाको अनुगमन टोली पुगेको हो । काठमाडौं महानगरपालिका वडा नं ३१ का जनप्रतिनिधि, महानगरका राजस्व विभाग, प्राविधिक टोली र नगर प्रहरीसहितको टोली सप्त ऋषि आयुर्वेदको कारखानामा पुगेको हो ।

अनुगमनका क्रममा कारखानामा पुगेर तीन दिनमा महानगरलाई स्पष्टिकरण दिन पत्र काटिएको महानगरका राजस्व विभागका टंक प्रसाद बडालले बताए । प्रशासनिक रुपमा दर्ता प्रकृया र राजस्वमा श्री केशको खासै समस्या नदेखिएको उनले बताए ।

श्री केश तेलले गुणस्तरीयताको भने जाँच महानगरले गर्न लागेको उनले बताए । उनले भने, ‘कपाल उमार्ने वा नउमार्ने परिक्षणका लागि महानगरले स्याम्पलिङ लिएको छ । महँगोमा तेल बिक्री गरी रहेको श्री केश तेल ठीक, बेठीक हो अध्ययन हुन्छ ।’ श्रीकेश तेल महँगो भएको र प्रचार गरेजस्तो गुणस्तरीय नरहेको जनताको गुनासो आएपछि सोको जाँचका लागि महानगरपालिका श्रीकेशको कारखानामा पुगेको हो ।

तीन दिनको लागि तेल उत्पादन, बिक्री, वितरणमा रोक लगाउन निर्देशन दिएर कारखानामा ताला लगाउन लगाएको उनले जानकारी दिए । श्री केशले स्पष्टिकरण दिएर गुणस्तर जाँचपछि गुणस्तर ठहरिएमा कारखाना खोल्न पाउने महानगरले जनाएको छ ।

विभिन्न विवादका बावजुद सप्त ऋषि कम्पनी भने श्री केश तेलले कपाल उमार्नेमा कुनै शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँदै आएको छ । तेलमा मा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण, उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको कम्पनीले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्