Logo

भारतको उत्तरपूर्वी राज्यमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या ३१ पुग्यो

 

काठमाडौँ – भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको अधिकारीले बुधबार जानकारी दिएका छन् । प्रहरीका अनुसार मंगलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगन्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ । अधिकारीले पीडित महिला र उनका तीन छोरीको पहिचान गरिएको जनाएका छन् । भग्नावशेषबाट तीन वर्षीय बालकको शव पनि निकालिएको छ भने असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको बताएका छन् ।

सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना मानिस बाढीले प्रभावित भएका छन् भने बाढीले प्रभावित जिल्लाहरूको एक हजार ३७८.६४ हेक्टर बाली उत्पादन क्षेत्रलाई पनि असर पारेको छ । हाल ४७० गाउँ पानीमा डुबेका एएसडिएमएले बताएको छ । स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र खोलेको छ । जसमध्ये अधिकांश करिमगञ्जमा स्थापना गरिएको छ । अधिकारीले राहत शिविरमा पाँच हजार ११४ जनालाई शरण दिँदै राहत कार्य जारी रहेको बताएका छन् । तटबन्ध सडक र पुलहरू लगायत पूर्वाधारमा भएको क्षतिको परिमाणले प्रभावित जनसंख्या लाई सहायता प्रदान गर्न कठिनाइहरू बढाएको उनीहरूले बताएका छन् । गत महिना पश्चिम बंगाल र बंगलादेशको तटमा आएको चक्रवात रेमलपछि भारी वर्षाले गर्दा आसाम र मणिपुर राज्यमा क्षति पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस्