Logo

साउदी अरेबियामा गर्मीको कारण एक हजार बढी तीर्थयात्रीको मृत्यु

एजेन्सी– हरेक वर्ष साउदी अरबमा लाखौँ तिर्थयात्री भेला भएर गर्ने हज यात्रामा एक हजारभन्दा धेरैको मृत्यु भएको छ । मृत्यु हुनेमा विशेषगरी अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेहरु धेरै छन् ।

फान्सेली सञ्चार माध्यम एएफपीका अनुसार वार्षिक तीर्थयात्राका क्रममा करिब १० देशका एक हजार ८१ जनाको मृत्यु भएको छ । हज यात्रामा सबैभन्दा धेरै इजिप्टीयनको मृत्यु भएको छ । ६५८ जना इजिप्टीयनको मृत्यु भएको हो ।  ती मध्ये बिहीबारमात्र  ५८ जना इजिप्टियनहरूकाे मृत्यु भएको छ । यस्तै बुधबार भारतका मात्र ६८ जना तिर्थयात्रीले ज्यान गुमाएका छन् । तिर्थयात्रामा केहिको वृद्ध अवस्थाका कारण मृत्यु भएको छ । कोहि भिडले कुल्चिएर मृत्युवरण गरेका छन् भने कतिपयको गर्मी सहन नसकेर मृत्यु भएको छ।

साउदी अरब उसैपनि गर्मी ठाउँ हो । राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ता हज यात्रा भइरहेको मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम मापन गरेको छ ।

साउदी अरेबियाले आइतबार अत्यधिक गर्मीका कारण २,७०० भन्दा बढी मानिसहरूको मृत्यु भएको जानकारी दिएको थियो । तर हज यात्रामा मृत्यु हुनेको आधिकारिक जानकारी भने साउदी अरेबियाले दिएको छैन । यस वर्ष विशेषगरि जुन १४ देखि १९सम्म सञ्चालन भएको हज यात्रा हप्ताभर नै चलेको थियो ।

साउदी अरेबियाको हज सम्बन्धी कानुन अनुसार हजको क्रममा कुनै व्यक्तिको मृत्यु भएमा उनको शव देश पठाइने छैन । त्यहाँ मृत्यु भएकाहरुको साउदी अरबमै अन्त्येष्टि गरिएको छ । हज यात्राको लागि तयारी गर्दा प्रत्येक व्यक्तिले हजसँग सम्बन्धित आवेदन फारममा हस्ताक्षर गर्दछ। साउदी अरेबियाको जमिन वा आकाशमा मृत्यु भएमा शव त्यहीँ गाडिने र परिवार वा आफन्तबाट कुनै आपत्ति जनाउन नपाइने सम्झौतामा तीर्थयात्रीले हस्ताक्षर गरेका हुन्छन् । मृतक तीर्थयात्रीहरूलाई गाड्ने प्रक्रिया सुरु गरेका छन् । शव सफा गरेर सेतो कपडामा बेरेर छुट्टै चिहानमा गाड्ने काम भइरहेको जनाइएको छ ।

हज यात्रा इस्लाम धर्मालम्बीहरुले हरेक वर्ष गर्ने यात्रा हो । यो संसारकै सबैभन्दा ठूलो धार्मिक मेला हो । साउदी अरेबियाको मक्कामा मुसलमानहरु जम्मा भएर हज यात्रा गर्छन् । शारीरिक रुपमा सबल भएका व्यक्तिले जीवनकालमा हज यात्रा कम्तीमा एक पटक गर्नुपर्ने इस्लामको धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्