Logo

माओवादी र कांग्रेस निकट जनप्रतिनिधिबीच खटपट हुँदा आगामी वर्षको बजेट नै अन्योलमा

 

 

काठमाडौँ – रुपन्देही बाँकेको खजुरा गाउँपालिकामा यसअघि सहकार्य गरेका माओवादी र कांग्रेस निकट जनप्रतिनिधिबीच खटपट हुँदा आगामी वर्षको बजेट नै अन्योलमा परेको हो । आइतबार सुरु भएको पालिकाको १५औँ अधिवेशनमा कांग्रेसबाट निर्वाचित बहुमत सदस्यहरूले असहमति जनाउँदै बहिस्कार गरेपछि पालिकाको बजेट अन्योलमा परेका छन् ।

नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्ष बनेका डम्मर विक तुफानले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उपप्रमुखसहित बहुमत सदस्यले छलफल गर्न माग गरे पनि छलफल नै नगरी पास गर्न खोजिएपछि पालिका उपप्रमुख मञ्जु मल्लसहित २३ जना सदस्यहरूले सभा बहिस्कार गरेका छन् । गाउँसभाको बहुमत २३ जना जनप्रतिनिधिले गाउँसभाको बहिष्कार गरिएको भए पनि सभा सुरु हुनुपूर्व लिइएको उपस्थितिको हस्ताक्षरलाई निर्णय मान्दै २१ जनाको सहमतिमा नीति तथा कार्यक्रम पास भएको प्रमुख विकले घोषणा गरेका हुन् । उपस्थितिलाई निर्णय प्रक्रिया मान्दै जबरजस्ती नीति तथा कार्यक्रम पास भएको घोषणा गरिएको पालिकाकी उपप्रमुख मल्लले बताएकी छिन् ।

उनले नीति तथा कार्यक्रम प्रस्तुत भए पनि २३ जना जनप्रतिनिधिले बहिष्कार गरेको सभामा २१ जना बसेर गरिएको पासलाई पास भएको मान्न नसकिने बताएकी छिन् । उनले नीति तथा कार्यक्रममा आफूहरूको खासै धेरै विषय नभएको बताउँदै जनताले अनुभूति गर्ने गरी केही कार्यक्रमहरू समावेश गर्नुपर्ने र लामो समयदेखि कर्मचारी र जनप्रतिनिधिबीचको असमझदारीलाई कार्यक्रममा सम्बोधन गरेर लैजानुपर्ने मागलाई प्रमुख विकले नमानेपछि बहिस्कार गर्नुपरेको बताएकी छिन् । बजेटका विषयमा उनले अझै बसेर छलफल गर्न सकिने र त्यसकै लागि अगाडि बढेको बताइन् ।

१–२ घण्टा बसेर आवश्यक कुरा समावेश गर्ने र प्रक्रिया पूरा गरेर पास गरेर जान सकिन्छ । हाम्रो ठूला माग र स्थानीय सरकारलाई असहज बनाउने उद्देश्य हुँदै होइन’ उनले थप भनिन् । ४४ सदस्सीय सभामा २३ जनाको बहिस्कारको घोषणाले आउने हप्ता प्रस्तुत गर्नुपर्ने बजेट अन्योलमा परेको छ । पालिका प्रमुख विकले मोबाइल उठाएनन् भने पालिकाका प्रवक्ता धनराम ओलीको मोबाइल स्वीच अफ छ । प्रमुख प्रशासकीय अधिकृत बुबहादुर रानाले केही सदस्यहरूले नीति तथा कार्यक्रमका विषयमा असहमति जनाएको तर सोमबार नै बजेटले प्रवेश पाउने र आफूहरू त्यसैको तयारीका लागि पालिकामा रहेको दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्