Logo

सन्दीप लामिछानेलाई एक लाख नगदसहित भरतपुर महानगरपालिकाले गर्यो सम्मान

चितवन– चितवनको भरतपुर महानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई सम्मान गरेको छ ।  लामिछानेलाई मंगलबार विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले सम्मान गरेको हो । आइसिसी टि–२० विश्वकपमा राम्रो प्रदर्शन गरेको भन्दै महानगरले उनलाई सम्मान गरेको हो ।

चितवन निवासी सन्दीप भरतपुर महानगरपालिकाका स्थायी वासिन्दा हुन् ।  सन्दीपलाई सम्मानका साथै महानगरपालिकाले नगद एक लाख रुपैयाँले पुरस्कृत गरेको छ । हालैसम्पन्न विश्वकप क्रिकेट खेलेर स्वदेश फर्किएका लामिछानेलाई राम्रो क्रिकेट खेलेर देशको इज्जत बढाएकाे भन्दै सम्मान गरिएको हो । महानगर प्रमुख रेनु दाहाल उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
सन्दीपले आइसिसी टि–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजको दुई खेलमा सहभागिता जनाएका थिए । उनले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल खेलेका थिए । सन्दीपले विश्वकपकै क्रममा बंगलादेशविरुद्ध २ विकेट लिँदै टी–२० आई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने दोस्रो खेलाडीको रेकर्डसमेत बनाएका छन् । उनले ५४ खेलमा १०० पूरा गरेका हुन् ।

आइसिसी टि–२० विश्वकप नेपालले १० वर्षपछि खेलेको थियो । समुह डिअन्तर्गत रहेर नेदरल्यान्डस्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग नेपालले खेलेको थियो । तर नेपालले समुह चरणको ४ खेलमा तीन खेलमा पराजय व्यहार्यो । एक खेल रद्द हुँदा श्रीलंकासँग अंक बाँढेको नेपाल समुह चरणमा १ अंक जोड्दै विश्वकपबाट बाहिरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्