Logo

आयुक्तको घरमा डोजर चलाएकै दिन चिरिबाबु महर्जनलाई अख्तियारले काट्यो पत्र

काठमाडौं– ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अख्तिायर दुरुपयोग अनुसन्धान आयोगको आयुक्ताको घरमा डोजर चलाएकै दिन उनलाई अख्तियारले पत्र काटेको छ ।

बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । नगरप्रमुख महर्जनले अघिल्लो कार्यकालको समयमा बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई एक लाख ५० हजार र दुई लाख ५० हजारका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप उनीविरुद्ध छ ।

मेयर महर्जनलाई अघिल्लो कार्यकालमा २०७८ असार ३१ गतेको उजुरी अनुसन्धानको क्रममा केही बुझ्नुपर्ने भन्दै अख्तियारले बुधबार पत्र पठाएको हो । उनलाई असार २६ गते सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटो सहित आयोगको महाशाखा नं.३मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ।

उता बुधबारमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खालमा ललितपुर महानगरले डोजर लगाएर भत्काएको छ । । ललितपुरको वडानम्बर–१० चाकुपाटस्थित अमात्यको घरको कम्पाउन्ड पर्खाल मन्दिरको जग्गा मिचेर बनाइएको भन्दै मेयर महर्जनको उपस्थितिमा डोजर लगाइ पर्खाल भत्काइएको हो ।

प्रतिक्रिया दिनुहोस्