Logo

अन्धविश्वासकै कारण दुइजनाको हत्या

 

 

 

काठमाडौँ – पर्साको जगरनाथपुर गाउँपालिका नजिक नेपाल-भारत सीमामा पर्ने ओरिया खोला नजिक गाडिएको अवस्थामा फेला परेका दुईजनाको हत्या अन्धविश्वासकै भरमा गरिएको खुलेका छन् । गत जेठ २३ मा माटोमा गाडिएको अवस्थामा बाराको कलैयाका रामएकवाल पण्डित कुम्हाल र आदर्शकोतवाल घर भई कलैया बस्दै आएका सुरेश ठाकुरको शव फेला परेको थियो । प्रहरीले उनीहरूको हत्यामा संलग्न ३ जनालाई २३ दिनपछि पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरूमा पर्साको जगरनाथपुर गाउँपालिका ५ का सन्तोषप्रसाद कुम्हाल, सोही ठाउँका महादेव महतो नुनिया र बाराको कलैयाका लक्ष्मण प्रजापति हुन् । लक्ष्मणका भिनाजु सन्तोष हुन् । मृतक रामएकवाल लक्ष्मणका सहोदर काका हुन् । रामएकवाललाई गाउँलेले धामी मान्छन् । घरका सदस्य र घरपालुवा पशुलाई जादुटुना गरेको भन्दै लक्ष्मणले काका रामएकवाललाई र घटना बाहिरिने डरले सुरेशलाई पनि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।धामी काका रामएकवाललाई मार्नका लागि रामएकवाल र उनका भिनाजु सन्तोषले ८ लाख रुपैयाँ खर्चेको पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् ।

उनका अनुसार बयानका क्रममा आफूहरू ४/४ लाख रूपैयाँ हत्या गराउन खर्च गरेको कुरा लक्ष्मण र सन्तोषले स्वीकार गरेको दाबी गरेका छन् । एसपी ढुंगेलले भनेका छन् – घरका सदस्य र पशुलाई जादुटुना गरेको कुरा लक्ष्मणले भिनाजु सन्तोषलाई सुनाएका थिए । सन्तोषले थप क्षति पुर्‍याउँछ भनेर काका रामएकवाललाई मार्न सुझाएका थिए । त्यसपछि सुटर खोजे । सुटरको रूपमा महादेवलाई प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ ।

‘लक्ष्मणले झारफुककै बहानामा काका रामएकवाललाई बाहिर बोलाएका थिए,’ एसपी ढुंगेलले भनेका छन्। रामएकवाल साथी सुरेशलाई साथमा लिएर लक्ष्मणले भनेको ठाउँमा पुगेका हुन् । रामएकवाललाई मारेपछि सुरेशले घटना बाहिर ल्याउँछ भनेर उनीकाहरुले दुबैजनालाई मारेको बयान दिएका छन् ।’उनले घटनास्थलबाट बरामद कागजातको अनुसन्धान गर्दा तीनैजनाको संलग्नता रहेको अनुसन्धानले देखाएपछि
पक्राउ गर्न सफल भएको सुनाएका थिए । पक्राउ परेका तीनैजनामाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्