Logo

सन्दीप लामिछानेलाई ए ग्रेडिङका खेलाडीमा राख्ने क्यानको निणर्य, आदिल आलमको निलम्बन फुकुवा गर्ने तयारी

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरिएको हो । उक्त निर्णय जुलाई १ २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म रहने क्यानले जनाएको छ ।

यसअघि सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी ग्रेडिङ बाहिर रहेका थिए । अदालतले उनलाई आरोपबाट सफाई दिएपछि ग्रेडिङमा समावेश गरिएको हो ।

यस्तै क्यानले विश्वकपको समयमा क्यानका बारेमा भ्रामक समाचार फैलाएको भन्दै केन्द्रीय उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्य माधव कुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टिकरण सोध्ने भएको छ । बिहीबार बसेको बैठकले नेपाल प्रिमियर लिग आगामी नोभेम्बर/डिसेम्बरमा आयोजना गर्ने निर्णयसमेत गरिएको क्यानले जनाएको छ ।

टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै जुलाई १९ देखि श्रीलंकामा हुने महिला टी–२० एसिया कपका लागि बन्द प्रशिक्षणमा रहेकी महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । अप्सरीलाई निलम्बन गरी थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई क्यानले जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रकृया सम्वन्धमा संघको अनुशासन समितीलाई १ हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिने निर्णय गरिएको क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्