कास्की– लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा बाढी पहिरोले ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाका अनुसार पहिरोले पुरिँदा पोखरामा ९ जनाको मृत्यु भएको छ । उनका अनुसार पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् ।
मृतकहरुमा ४७ वर्षका कुलबहादुर परियार, उनकी ४३ वर्षीय श्रीमती मनकुमारी, आमा ८५ वर्षकी लक्षिमा, छोरीहरू १५ वर्षकी प्रसना, २० वर्षकी प्रभा र वर्ष २५ का ज्वाइँ अस्मित परियार रहेका छन् । सो घटना देखेपछि ४६ वर्षीया राधिका परियारको हृदयघात भई मृत्यु भएको जनाइएको छ ।
यस्तै, मादी ११ तल्लो साप्लेमा हुमबहादुर गुरुङको घरमा पहिरो आउँदा ८० वर्षीय माइती गुरुङको मृत्यु भएको छ भने हुमबहादुर घाइते भएका छन् ।
उता पोखरा महानगरपालिका वडा नं ३० र ३२ को सिमानामा रहेको चैनपुरमा आरती ओझाको घरमा बाढी पस्दा छोरीहरू १८ वर्षकी अस्मिता, ११ वर्षकी अनुष्का र उनका भतिज ९ वर्षीय पुष्प सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सो घटनामा घाइते ४० वर्षीय आरती ओझालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ ।
सोपछि बाढी र पहिरोको उद्धार र राहतका लागि प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा उद्धार टोली मादीमा पुगेको छ ।
प्रतिक्रिया