Logo

वृद्ध बुबालाई बीच जङ्गलमा छाडीदिएर मोरङमा छोराबुहारी बेपत्ता

काठमाडौं– तपाईँले छोरा बुहारीले वृद्ध बुबालाई जंगलमा लगेर छाडिदिएको एकादेशको कथामा सुन्नुभएको होला । तर मोरङमा वास्तविकतामा नै छोराबुहारीले वृद्ध बुबालाई जङ्गलमा लगेर छाडिदिएका छन् ।

मंगलबार बिहान वन कर्मचारीले बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा एकजना वृद्धलाई फेला पारे । ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई वनका कर्मचारीले उद्दार गरेका हुन् । उनी चारदिनदेखि सोही जङ्गलमा रहेको बताएका थिए ।

बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आएका जामुनलाल जङ्गलमा फेला पर्दा उनको स्वास्थ्य अवस्था एकदमै कमजोर थियो । उनको वन हेरालु टोलीले उद्दार गरि यतिबेला नजिकैको नगर अस्पतालमा उपचार गराइरहेका छन् ।

बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । ‘चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ,’ उनले भने ।

वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिएका छन् । उनको छोराबुहारीको खोजी भइरहेको जनप्रतिनिधिले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्