देब्रे हात भाँचिएर जाँदा जिल्ला अस्पताल बझाङले चढायो दाहिने हातमा प्लस्टर


बझाङ– जिल्ला अस्पताल बझाङमा एउटा हात भाँच्चिएर जाँदा अर्को हातको प्लास्टर गरिएको छ । देब्रे हात भाँच्चिएर उपचारका लागि अस्पताल पुगेका एक बालकको दाहिने हात प्लास्टर गरिएको हो । उनको सो तस्बीर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ ।

बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका थिए । उनको लडेर देब्रे हात भाँच्चिएको थियो । सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार दिउँसो तीन बजेतिर जिल्ला अस्पताल सिमखेत पुर्याए ।

उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखिएपछि शल्यक्रिया गर्नु पर्ने भन्दै वार्डमा भर्ना गरिएको थियो । वार्डमा लगेको केही समयमा नर्सहरुले हातमा पलास्टर गर्न बालकलाई लिएर गए । प्लास्टर सकिएपछि मंगलबार अपरेशन गर्नेभन्दै सुनिललाई दाइको जिम्मा लगाएका थिए ।

प्लास्टरपछि अस्पतालको क्यान्टिङमा खाजा खान दाजु आदेशले सुनिललाई लिएर गए । त्यहाँ पुगेपछि उनले भाइको देब्रे हातमा नभइ दाहिने हातमा प्लास्टर चढाइएको थाहा पाएका थिए । सोपछि आदेशले भिडियो बनाउन खोज्दा अस्पतालका कर्मचारी आएर सुनिललाई अस्पताल भित्र लिएर गए । र दाहिने हातमा चढाइएको प्लस्टर निकालेर देब्रे हातमा लगाइदिए ।

मंगलबार साँझ शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिर्स्चाज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको हो । पलास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भएको अस्पतालले स्विकार गरेको छ । भविष्यमा यस्तो घटना नदोहोरियोस् भने छानबिन गरिने अस्पतालले प्रतिवद्धता जनाएको छ ।