काठमाडौं– आज नेपाली महिला क्रिकेट टोलीले ८ वर्षपछि एसियाको सबैभन्दा ठूलो प्रतियोगिता खेल्दैछ । श्रीलंकामा भइरहेको महिला एसिया कप क्रिकेटमा नेपालले यूएईसँग गर्ने प्रतिस्पर्धा आठ वर्ष यताकै ठुलो हो ।
एसिसि महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार २ः१५ बजे सुरु हुनेछ । खेलको तयारीको लागि दुई साता अघि नै नेपाली टोली श्रीलंका पुगेको थियो ।
चीनमा आयोजना भएको एसिया कप २०१२ मा नेपाली महिला टोलीले पहिलोपटक खेलेको थियो । सन् २०१६ मा थाइल्यान्डमा भएको एसिया कपमा पनि नेपालले सहभागिता जनाएको थियो । २०–२० शृङ्खलाको उक्त दुबै संस्करणमा नेपाल कुनैपनि खेल नजित्दै बाहिरिएको थियो ।
समूह ‘ए’ मा रहेको नेपालले युएईबाहेक, पाकिस्तान र भारतको सामना गर्ने छ । पाकिस्तानविरुद्ध जुलाई २१ मा र भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । समूह बीमा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड एक आपसमा भिड्दैछन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
इन्दु वर्माको कप्तानीमा रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी नेपालका लागि खेल्दैछन् ।
प्रतिक्रिया