आक्रमणकारी हमलामा ज्यान गुमाएकी गर्भवतीको कोखबाट शिशुको जीवितै उद्धार

648
Shares

एजेन्सी– इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले जनाएको छ ।

हमास प्रशासित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका छ सदस्यसहित २४ जनाभन्दा बढीको मृत्यु भएको र त्यसमा एक नौ महिनाकी गर्भवती ओला अदनान हर्ब अल कुर्द पनि रहेको बताइएको छ ।

सर्जन अकरम हुसेनका अनुसार कुर्द अल अवदा अस्पताल पुग्दासम्म मृत्यु भइसकेको थियो । चिकित्सकहरूले आमाको मृत्यु भइसकेको थाहा पाएपछि अल्ट्रासाउन्ड गर्दा बच्चाको मुटुको धड्कन चलिरहेको पाएपछि तत्काल शल्यक्रिया गरी पेटभित्रको नवजात शिशुलाई सकुशल उद्धार गरेका थिए ।

‘हामी (चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्ध टोली) ले तुरुन्तै आपतकालीन शल्यक्रिया गरी भ्रूणलाई सकुशल मृत आमाको पेटबाट निकाल्न सफल भएका छौँ,’ ती सर्जन हुसेनले एएफपीसँग बताएका छन्।

अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख रैद अल साउदीका अनुसार नवजात शिशुको अवस्था सुरुमा गम्भीर थियो, तर अक्सिजन र उपचारपछि उनको उपचार स्थिर छ । शिशुलाई ‘इन्क्युबेटर’ मा राखी थप रेखदेख र उपचारका लागि देइर अल–बलाहको अल–अक्सा अस्पतालमा स्थानान्तरण गरिएको छ ।