न्युरोडमा फुटपाथ विस्तार थालेपछि बालेनको सर्वव्यापी विरोध, स्थानीयले पुत्ला जलाएको फोटो बालेनको प्रोफाइल पिक्चरमा


काठमाडौं– न्युरोड क्षेत्रलाई पैदल यात्रुमैत्री बनाउन काठमाडौं महानगरपालिकाले न्युरोडको सडक काटेर फुटपाथको चौँडाइ बढाउन थालेपछि त्यहाँका स्थानीय आक्रोशित बनेका छन् । अदालतले स्विकृती दिएपछि महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गर्दा आक्रोसित स्थानीयले बालेनको पुत्ला बनाएर जलाएका छन् । उनहरुले शुक्रबार साँझ न्यूरोडमा बालेनको पुत्ला जलाएका हुन् । साथै उनीहरुले टेन्ट लगाएर शुक्रबार बेलुका सडकमै बसेका थिए ।

स्थानीयले आफ्नो पुत्ला जलाएपछि बालेनले मुस्कानको इमोजीसहित आफ्नो व्यक्तिगत फेसबुक आइडिको प्रोफाइलमा उक्त फोटो राखेका छन् । उनको उक्त फोटोमा समर्थकले राम्रो काम गर्दा जल्न पनि तयार हुनुपर्ने रहेछ भन्दै प्रतिक्रिया दिएका छन् ।

नेपाल सडक मापदण्ड २०७० अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ सडक ३ फुटको चाहिने मापदण्ड रहेको छ । न्युरोड क्षेत्रमा फुटपाथ साँघुरो भएर पैदल हिँड्न समस्या भएको तर सडक भने पार्किङका लागि प्रयोग भएको भन्दै महानगरले फुटपाथ विस्तारको योजना अघि सारेको थियो ।

काठमाडौं महानगरपालिकाले न्युरोडको सडकलाई काटेर फुटपाथको आकार बढाउन गत आर्थिक वर्षमा बजेट छुट्याएर डिपिआर तयार गरेको थियो । सोका लागि टेण्डर प्रक्रियाबाट २ करोड ५६ लाख रुपैयाँ .मा काम सम्पन्न गर्न आरोग्य साइटेक जेभी छनोट गरेर फुटपाथ विस्तारको काम सुरु गरेको थियो । न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे महानगरले भत्काएको थियो ।

तर पटक पटक महानगरको फुटपाथ बनाउने काममा अवरोध सुरु भयो । महानगरभित्रकै अन्य जनप्रतिनिधि, स्थानीयले बालेनले फुटपाथ विस्तार गरेकोमा विरोध जनाएका थिए । उता सडक डिभिजनको आफ्नो अनुमति नलिइ सडक काटेको भन्दै महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिँदै तत्काल कालोपत्रे गर्न निर्देशन दिएको थियो । महानगरले कालोपत्रे नगरेपछि काटेको न्युरोडको कालोपत्रे सडक डिभिजन आफैँ आएर कालोपत्रे गरेको थियो । सोपछि महानगरले उच्च अदालत सडक विभागको हस्तक्षेप उचित नभएको भन्दै रिट दायर गरेको थियो । सो रिटमा महानगरकै पक्षमा फैसला गर्दै उच्च अदालतले न्युरोडमा फुटपाथ विस्तार अघि बढाउन अन्तरिम आदेश दिएको थियो ।

सोहि आदेशका साथ महानगरपालिकाले शुक्रबार पुन कालोपत्रे उप्काउन डोजर पठाएको थियो । फुटपाथ विस्तारको विपक्षमा रहेका स्थानीयले डोजरलाई रोक्दै शुक्रबार विरोध गरेका थिए । विरोधमा उत्रिएका स्थानीयबासी र नगर प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो । सोहि क्रममा आक्रोशित बनेका स्थानीयले शुक्रबार बालेनको पुत्ला बनाएर जलाएका हुन् ।

यस्तै बालेनको फुटपाथ विस्तारको विरोधमा आइतबार वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम सुरु गरेका छन् । महानगरले न्यूरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाट गर्ने भन्दै उनले फुटपाथ विस्तारको विरोध सुरु गरेका हुन् ।