एजेन्सी– एजेन्सी– भारतको केरला राज्यमा निपाह भाइरसका कारण एक जनाको मृत्यु भएको छ । निपाह भाइरसका कारण केरलाका पाण्डिक्कड सहरका १४ वर्षीय बालकको मृत्यु भएको हो । सोपछि केरलामा स्वास्थ्य अधिकारीहरूले अलर्ट जारी गरेका छन् ।
राज्यका स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार थप ६० जनामा यो रोग भएको उच्च जोखिमको श्रेणीमा रहेको पहिचान गरिएको छ । यस क्षेत्रका मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान जस्ता सावधानी अपनाउन भनिएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार निपाह भाइरस सङ्क्रमण सुँगुर र फ्रुट ब्याट (चमेरा) जस्ता जनावरबाट मानिसमा सर्ने ‘जुनोटिक रोग’ हो। डब्ल्यूएचओले महामारीलाई सुरु गर्ने सम्भाव्यताका कारण यस भाइरसलाई प्राथमिकतामा राखेको छ। यो भाइरस दूषित खानाबाट र सङ्क्रमित व्यक्तिको सम्पर्कबाट सर्नेगर्छ ।
ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी र घाँटीको दुखाइ, वान्ता आउनेजस्ता यस भाइरसका प्रारम्भिक लक्षण हुन् । केहि व्यक्तिमा रिँगटा लाग्ने, निद्रा लाग्ने, बेहोस हुने, भ्रुण इन्सेफलाइटिस, अटिपिकल निमोनिया, अन्य गम्भीर श्वासप्रश्वास समस्याहरू समेत देखिने गर्छ । यस भाइरसबाट सङ्क्रमित मानिसहरूले कहिलेकाहीँ कुनै पनि उल्लेखनीय लक्षणहरू देखाउँदैनन् । अवस्था गम्भीर भएमा मस्तिष्कलाई असर गर्ने भ्रूण इन्सेफलाइटिस हुन सक्छ ।
यस भाइरसको कुनै औषधि वा भ्याक्सिन उपलब्ध छैन । भाइरसका कारण गम्भीर भएमा मृत्युको जोखिम उच्च रहन्छ । यो रोगको संक्रमण समय ४ देखि १४ दिन सम्म रहेको बैज्ञानिक हरुले दाबी गरेका छन । यस रोग लागेको लगभग ४० देखि ७५ प्रतिशत मानिसको मृत्यु हुन सक्ने र २० प्रतिशत मानिस कुनै न कुनै स्नायु प्रणालिको समस्या जस्तै शरीर काँप्ने , ब्यक्तित्व परिवर्तन जस्ता समस्या देखा पर्न सक्दछ भने सामान्य मस्तिष्क सुन्निने लक्षणलाई जित्न सक्ने मानिस भने पुर्ण रुपमा निको हुन सक्दछ ।
सन १९९४ मा घोडा र मानिस हरुमा स्वासप्रस्वास सम्बन्धी रोगको कारक तत्वको रुपमा यस भाइरस पहिलो पटक पत्ता लागेको थियो । पहिलो पटक सन १९९८ मा मलेसियामा यो भाइरस संक्रमणले महामारिको रुप लिएको थियो । उक्त समयमा सुंगुरको माध्यमबाट यो भाइरस मानिसमा सरेको थियो। सोपछि सिङ्गापुर,.बङ्लादेश हुँदै भारतसम्म देखा परेको थियो ।
डब्ल्यूएचओका अनुसार सन् २००१ र २००७ मा पहिलो दुई प्रकोप पश्चिम बंगालको पूर्वी राज्यमा देखिएको थियो।
सन् २०१८ मा, दक्षिणी राज्य केरलाको कोझिकोड र मलाप्पुरम जिल्लाहरूमा देखिएको प्रकोपमा १७ व्यक्तिको मृत्यु भएको थियो।सन् २०१८ मा त्यहाँ पहिलो पटक रिपोर्ट गरिएपछि यो भाइरसलाई केरला राज्यमा दर्जनौँको मृत्युसँग जोडिएको छ।
प्रतिक्रिया