अत्यावश्यकबाहेक सबै सेवा ठप्प पार्ने नर्सिङ संघको घोषणा


काठमाडौं। नेपाल नर्सिङ संघ आन्दोलनमा उत्रिएको छ। सरकारसँग भएको सहमतिबाट पछि हट्दै संघ आन्दोलनमा उत्रिएको हो । नर्सिङ संघले आन्दोलनका कार्यक्रमहरु पूर्वयोजनाअनुसार जारी राख्दै ४८ घण्टाभित्र माग सम्बोधन नभएमा सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा देशव्यापी रुपमा ठप्प पार्ने घोषणा गरेको छ ।

संघले स्वास्थ्य मन्त्रालयले नर्सिङ आन्दोलनको माग सम्बोधन गर्न गठित कार्यदलको निर्णयको बुँदा नम्बर १ मा सरकारीसरह न्यूनतम पारिश्रमिकलगायत अन्य सेवासुविधाको सुनिश्चितता गर्ने भन्ने सहमति भए पनि बाँकी बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति रहेको हुनाले आन्दोलन जारी रहने जनाएको छ । संघले आन्दोलनमा उत्रिसकेका नर्सहरुलाई कुनै प्रकारको दबाब, प्रभाव, डर, त्रास वा धम्की नदिनसमेत सचेत गराएको छ ।

आन्दोलनका कारण विरामीलाई पर्न जाने प्रत्यक्ष अप्रत्यक्ष असर र अन्य असुविधाप्रति क्षमायाचना गर्दै यसवाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी नेपाल सरकार र सम्वन्धित स्वास्थ्य संस्थाले नै व्यहोर्नुपर्ने उल्लेख गरेको छ । असोज १७ गतेदेखि पोखराबाट सुरु भएको निजी मेडिकल कलेज तथा अस्पतालका नर्सहरूको आन्दोलन देशव्यापी भएको छ । ती संस्थामा अहिले १५ हजार नर्सहरू कार्यरत छन् ।

उनीहरूले आफ्नो तलब सरकारीसरह तलब हुनुपर्ने माग राखेका थिए । शनिबार स्वास्थ्य मन्त्रालय, निजी मेडिकल तथा डेन्टल एसोसिएसन, नेपाल नर्सिङलगायतका पदाधिकारीबीच ठूला निजी मेडिकल कलेज र अस्पतालमा कार्यरत नर्सहरूको तलब ३४ हजार ७४३ र साना निजी मेडिकल कलेज तथा अस्पतालमा कार्यरत नर्सहरूको ८० प्रतिशत बढाउने अर्थान् २७ हजार दिने सहमति भएको थियो । जसलाई नर्सहरूले अस्वीकार गर्दै आएका छन् ।