Logo

अधिकांश महिलाहरु सुत्केरी भएपछि किन डिप्रेसनमा जान्छन्, यस्तो छ प्रमुख कारण

महिलाहरुमा आमा बन्नु सुखद् अनुभव हो । तर आमा बन्दा गर्भावस्था र सुत्केरी अवस्था निकै जटिलता र चुनौतीपूर्ण हुन्छ । यस्तो अवस्थामा परिवारबाट स्वास्थ्य र खानपानको ध्यान पु¥याइन्छ । तर महिलाहरुलाई गर्भावस्था र सुत्केरी अवस्थामा शारिरीक जटिलता मात्र देखा पर्दैन । यो समयमा मानसिक जटिलता समेत देखिन्छ ।

कतिपय महिलाहरुमा सुत्केरि भएपछि डिप्रेसनको समस्या देखा पर्ने गरेको छ । जसलाई पोस्टपार्टम डिप्रेसन अर्थात प्रसवोत्तर डिप्रेसनसमेत भनिन्छ । सुत्केरि भएको चार हप्ताभित्रको समयमा महिलाहरु यस्तो डिप्रेसनको शिकारमा पर्न सक्छन् ।

सुत्केरीपछि महिलाको हर्मोनमा तीव्र गिरावट हुने भएकाले रासायनिक परिवर्तन भई यस्तो समस्या देखा पर्ने गर्दछ । महिलामा प्रजनन हार्मोन एस्ट्रोजेन र प्रोजेस्टेरोनको स्तर गर्भावस्थाको समयमा दस गुणा बढ्छ र सुत्केरी हुने वित्तिकै तिनीहरूको स्तर तीव्र रुपमा घट्छ। हार्मोनहरुको यही उतारचढावले गर्दा महिला सुत्केरीपछि डिप्रेसनको सिकार बन्ने गर्दछन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अनुसार सुत्केरि भएका सय महिलामा करिब २२ महिला बच्चा जन्मिएपछि पोस्टपार्टम डिप्रेशनको शिकार बन्ने गरेका छन् । अनिद्रा, खाना अरुची, गम्भीर थकान, कम कामवासना, बारम्बार मूड स्विंग डिप्रेसनका सामान्य लक्षण हुन् । भर्खरै सन्तान जन्माएकी आमाहरुमा धेरै मुड स्विङ हुने, सानो सानो कुरामा चिढचिढापन, गम्भीर वा क्रोधित हुने गरेको पाउनुहुन्छ भने त्यो पोस्टपार्टम डिप्रेशनको कारण भएको हुनसक्छ । निराश हुने, सँधै दुखी भइरहने, कुनै कुरामा ध्यान केन्द्रीत गर्न नसक्नु यस्को प्रमुख लक्षण हुन् ।

किशोरि आमा, गर्भावस्थामा जटिलता भएका तथा परिवारका अन्य सदस्यमा डिप्रेशन भएका महिलामा यस्तो समस्या धेरै देखिन्छन् । विगतमा मानसिक विकार भोगिरहेको भएमा वा सुत्केरी भएको समयमा परिवारमा आर्थिक सङ्कट भइरहेको अवस्थामा पनि डिप्रसन हुनसक्छ ।

गर्भावस्था र सुत्केरीका कारण जागिर गुमाउनु पर्ने र शारिरीक रुपमा आफुलाई कमजोर महसुस गर्ने हुँदा महिलाहरुमा मानसिक रुपमा समेत दवाव पर्न जान्छ । पूर्व योजना र तयारीबिना गर्भवतीहुँदा गर्भावस्थामा हुने परिवर्तनको बारेमा उनीहरु तयार नहुन सक्छन् । सन्तानलाई जन्म दिएपछि महिलाको शरिरको बनावटमा समेत परिवर्तन आउँछ जसले डिप्रेसनसम्म पुर्याउनसक्छ । पोस्ट डिप्रेसनका कारण सुत्केरी महिलाले आत्महत्या गरेको समेत घटनाहरु छन् ।

यस्तो डिप्रेसन दुईदिनदेखि दुई वर्षसम्म पनि रहने गरेको छ । डिप्रेसनका लक्षण र प्रकारहरूको गम्भीरता आधारमा यसको उपचार गरिन्छ ।

यस्तो समयमा महिलालाई श्रीमान र परिवारको साथ र सहयोग आवश्यक पर्छ । बच्चाको हेरचाह आमाले मात्र नभएर बुबाले पनि गर्नुपर्छ । सुत्केरीको आहारमा विशेष ध्यान पु¥याउनुपर्छ । फाइबर, क्याल्सियम र प्रोटिन युक्त आहार र पर्याप्त पानी पिउनुपर्छ । घर वरिपरि हिँडडुल गर्ने, अन्य व्यक्तिहरुसँग कुरा गर्ने, धेरै एक्लो नरहने गर्नुपर्छ । विश्वासिलो व्यक्तिसँग मनको कुरा खुलेर गर्ने र उनीहरुको सल्लाह र सुझाव लिनुपर्छ । यस्तै डिप्रेसनको अवस्था जटिल भएमा मनोचिकित्सकको परामर्श लिनुपर्छ । डाक्टरको अनुमतिमा मात्र औषधी सेवन गर्नुपर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्