भिसा ढिलो आउँदा रोहित र दीपेन्द्रको छुट्यो पहिलो खेल, फ्रेन्चाइज लिग खेल्न आज क्यानडा प्रस्थान गर्दै


काठमाडौं– क्यानडियन फ्रेन्चाइज लिग ग्लोबल टि–२० का लागि नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी आज क्यानडा प्रस्थान गर्दैछन् । भोली अर्थात् जुलाई २६ देखि सुरु हुने खेलमा सहभागिता जनाउन उनीहरु आज क्यानडा प्रस्थान गर्न लागेका हुन् ।

तर, उक्त लिगमा रोहित र दीपेन्द्र दुबैजनाको पहिलो खेल छुट्ने भएको छ । क्यानडा प्रस्थानका लागि भिसा आउन समय लागेपछि उनीहरुको पहिलो खेल छुटेको हो । आज राती दुवै दिल्लीबाट क्यानडाका लागि प्रस्थान गर्दैछन् ।

दीपेन्द्रसिंह ऐरी लिगमा भ्यानकुभर क्नाइट्सबाट खेल्दैछन् । त्यो टिमबाट नेपालका लेगस्पिनर सन्दीप लामिछानेपनि खेल्दैछन् । खेलका लागि सन्दीप क्यानडा पुगिसकेका छन् ।

यस्तै रोहित भने टोरोन्टो नेशनल्सबाट लिग खेल्दैछन् । पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् ।

लिगको उद्दघाटन खेलमा शुक्रवार बिहान टोरोन्टो र भ्यानकुभर भिड्ने तालिका रहेका छ । यदि दीपेन्द्र र रोहित समयमै पुग्न नसकेको भए यी दुई टोलीबिच रोचक भिडन्त देख्ने अवसर मिल्थ्यो । तर पहिलो खेलमा दुबैजना उपस्थित हुने छैनन् ।

दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्स बाट खेलेका थिए । उक्त संस्करणमा उनले उपाधि समेत जितेका थिए । उता विभिन्न फ्रेन्चाइज लिग हरुको अनुभव बोकिरहेका सन्दिपले पनि मोन्ट्रियल र टोरोन्टोमा अनुबन्ध भएर यस लिग खेलिसकेका छन् ।