काठमाडौं– बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँच्न सफल भएका क्याप्टेन मनिष शाक्यले आफुले जहाज कन्ट्रोल गर्न नसकेको बताएका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत उनले अस्पतालको मेडिकल डाइरेक्टलाई यस्तो बताएका हुन् ।
उनी अहिले हल्का बोल्न र झोलिलो पदर्थ पिउन सक्ने अवस्थामा छन् । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा। मिना थापासँग कुराकानी गर्दै क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए ।
‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो, त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’ शाक्याको भनाई उद्धत गर्दै डाक्टर थापाले भनिन्,
‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ ।’
उनको अस्पतालको न्यूरो आईसीयूमा उपचार भइरहेको छ । उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । मुख, खुट्टा, आँखाको भाग, टाउको लगायतमा चोटपटक लागेको छ । शाक्यको नाकको हड्डी र ढाडको एक हड्डी भाँचिएको छ । पाइलट शाक्यको स्वास्थ्यमा रहेको थप जटिलता पहिचानका लागि आज एमआरआई गर्ने तयारी रहेको छ ।
काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दल दुई जना, एक नाबालक, एक महिला र सौर्य एयलाइन्सका प्राविधिक गरि १९ जना सवार थिए । पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्याइएको थियो । घटनामा परेर अन्य १८ जनाको मृत्यु भएको छ । मृतकको शव त्रिभुवन शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।
प्रतिक्रिया