Logo

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम सक्कियो, आज आफन्तले शव बुझ्दै

काठमाडौं– सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज आफन्तलाई बुझाउने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालले सबै शवको पोस्टमार्टम रिपोर्ट सक्काएको छ ।

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीका अनुसार ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट भइसकेको छ । अब परिवारबाट सङ्कलन गरिएको हुलिया ‘म्याचिङ’ सकिएपछि आफन्तलाई बुझाइने उनले जानकारी दिएका छन् ।

दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये ४ जनाको शरीर धेरै जलन भएका कारण पहिचानमा कठिनाइ आएको छ । १४ जनाको भने पहिचान खुल्न सक्ने उनले बताए ।

साँझ चार बजेसम्म हुलिया ‘म्याचिङ’ आवश्यक प्रक्रिया सकेर त्यसपछि परिवारलाई शव बुझाइने चौधरीले बताए । फिंगर प्रिन्ट, डेन्टल ९दाँतको भाग० र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु लगायत), पहिरन, गहना लगायतका आफन्तले उपलब्ध गराएको हुलियाबाट शवको पहिचान गर्ने उनले बताए । यदी पहिचान नखुलेमा भने डीएनएको प्रक्रियामा जानु पर्ने चौधरीले उल्लेख गरे । डीएनएको प्रक्रियामा गएको खण्डमा भने शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्छ ।

काठमाडौंबाट पोखरा इन्जिन मर्मतका लागि उडेको सौयै एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको २० सेकेन्डमै अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दल दुई जना, एक नाबालक, एक महिला र सौर्य एयलाइन्सका प्राविधिक गरि १९ जना सवार थिए । विमानका पाइलट मनिष शाक्यको जीवितै उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी १८ जनाको मृत्यु भएको थियो भने पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्