Logo

सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन निवेदन लिएर सरकारी वकिल कार्यालय पुगिन् गौशला २६

काठमाडौं– नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन परिवर्तित नामगौशाला २६ ले निवेदन दर्ता गरेकी छन् । बिहीबार सरकारी वकिल कार्यालय पाटन पुगेर उनले लामिछाने विरुद्धको जबरजस्ती करणको मुद्दा अव सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन अनुरोध गर्दै निवेदन पेश गरेकी हुन् ।

उनले मुद्दा सुरु भएदेखि नै आफुले धेरै तनाव खेपेको र अब झेल्ने क्षमता नरहेको निवेदनमा बताएकी छिन् । लामिछानेविरुद्धको मुद्दाका कारण सामाजिक रूपमा अप्ठ्यारोमा परेको
उनले बताएकी छिन् । उनले निवेदनमा आफूले न्यायका लागि धेरै संर्घष गरेको तर यो क्रममा धेरै तनाव र दुख समेत झेलेकोले अब विवाद भन्दा अलि पर रहेर बस्न चाहेकाले मुद्दालाई अहिलेकै रूपमा स्वीकार गरेर बस्न चाहेको उल्लेख गरेकी छन् ।

समाजबाट धम्की आउने क्रम अझै नरोकिएको र पढाइमा समेत असर पुगेको भन्दै उनले अब पढाइमा ध्यान दिने बताएकी छिन् । अब मुद्दाको रूपमा सर्वोचच धाउन सक्ने क्षमता आफुमा नभएको बताउँदै उनले सरकारी वकिललाई पत्र लेखेकी छिन् । आफ्नो सक्कल नागरिकता पनि पेस गरेकाले सोही अनुरूप निर्णय गरिदिन आग्रह गरेकी छन् ।

बलत्कार मुद्दामा जिल्ला अदालतले सन्दीपलाई आंशिक ठहर गरेपछि उच्च अदालतमा मुद्दा दायर भएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउदै लामिछानेलाई सफाइ दिएको थियो । उक्त फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।

‘प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्