Logo

खेलकुदको कुम्भ मेला पेरिस ओलम्पिकको आज राति भव्य उद्घाटन हुँदै

काठमाडौं– खेलकुदको कुम्भ मेला ओलम्पिकको ३३ औँ संस्करणको आज फ्रान्सको पेरिसमा औपचारिक उद्घाटन हुँदै छ । नेपाली समय अनुसार राति ११ बजे उद्घाटन समारोह सुरु हुने छ ।

ओलम्पिक साउन २७ गतेसम्म सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको प्रतिस्पर्धा सुरु भइसकेको छ । पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक र भव्य उद्घाटन समारोह गर्ने तयारी गरेको छ ।

पेरिसको सेन नदीको किनारामा उद्घाटन हुनेछ यसअघिका उद्घाटन स्टेडियममा गर्ने प्रचलन थियो । उद्घाटन समारोहमा खेलाडीले सेन नदीबाट डुङ्गामा चढेर पेरिसको यात्रा गर्नेछन् । उद्घाटन समारोहका लागि विभिन्न शहरलाई सिँगारिएको छ । सेन नदीमा ट्रायथलन र लामो दुरीको पौडी प्रतियोगिता हुने छ । यसै गरी आइफल टावरको चाम्प डे मार्समा बिच भलिबलको प्रतियोगिता हुने छ ।

पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका झण्डै साढे १० हजार खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्ने छन् । यसपालि रुस र बेलारुसले भने ओलम्पिकमा औपचारिक सहभागिता जनाएको छैन ।

ओलम्पिककै इतिहासमा पहिलो पटक महिला र पुरुष खेलाडीको संख्या झन्डै बराबर छ । खेलका लागि ३० हजार स्वयंसेवक परिचालन गरिदैछ । ओलम्पिकका लागि पेरिसमा १५ वटा खेल स्थलको व्यवस्था गरिएको छ । जहाँ ३२ मध्ये २१ वटा खेल सञ्चालन गरिने छ । अन्य खेल पेरिस आसपासका सहरमा गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्