सिमलताल पहिरोले बेपत्ता बस नभेटिएपछि फर्कियो भारतीय टोली


काठमाडौं– सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो ।

लगातार ८ दिनसम्म अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि आइतबार टोली फर्किएको हो । शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी नै राखेको छ ।

गत असार २८ मा लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार थिए ।

सोमध्ये तीनजनाले त्रिशुलीबाट निस्किएर ज्यान जोगाएका थिए । ६३ जना बेपत्ता भएकोमा २० जनाकोमात्रै शव भेटिएको छ । त्यसमध्ये ४ जनाको शव अझै सनाखत हुन सकेको छैन ।