काठमाडौं– थारु समुदायमा व्यापक देखिएको सिकलसेल भाइरसका कारण पछिल्लो पाँच वर्षमा कैलालीको कैलारी गाउँपालिका ५४ जनाले ज्यान गुमाइसकेका छन् । कैलारीमा यस रोगबाट हालसम्म ९४ जना उपचार सेवा लिइरहेका छन् ।
सेती प्रादेशिक अस्पतालमा २०८१ सालको जेठ मसान्तसम्म थारु समुदायबाट ९४९ जना सिकलसेल बिरामीले उपचार लिइरहेका छन् । तीमध्ये ४६९ जना पुरुष र ४८० जना महिला छन्।
विसं २०७० सालतिर यो रोगको बारेमा पत्ता लागेको थियो । यो रोग पश्चिम क्षेत्रमा फैलीएको छ । कपिलवस्तुदेखि महाकालीसम्मका थारु समुदायका मानिसहरुमा यो रोग फैलिएको छ ।
मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुँदै रक्तअल्पता हुने रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया भनिन्छ। यो रोग वंशाणुगत रोग हो र नेपालमा खासगरी पश्चिम तराईका थारु जातिमा बढी भेटिएको छ ।
सिकलसेल एनिमिया मलेरिया प्रभावित क्षेत्रका मानिसको रक्तकोषमा देखिने समस्या हो। बाबुआमा दुवैलाई त्यो रोग छ भने छोराछोरीलाई पनि त्यही रोग लाग्ने सम्भावना ५० प्रतिशतसम्म रहने चिकित्सकहरू बताउँछन्।
यो रोग लागेमा शरिरमा रातो रक्त कोषिकाको कमी हुन गइ रक्त अल्पता हुनसक्छ । यस रोगको यकिन उपचार विधि छैन । तर नियमित उपचार गर्नु आफ्नो आयुलाई पर धकेल्नुको उपाय हो । रक्त अल्पता हुने भएकाले सिकलसेल एनिमिया भएका बिरामीले समयसमयमा रगत चढाउनुपर्ने हुन्छ । यो रोग जटिल भएका विरामीले प्रत्येक हप्ता रगत चढानुपर्ने हुन्छ । यो रोगको उपचार नपाएर कयौँको मृत्यु भएको छ ।
यो रोगलाई नेपाल सरकारले जटिल प्रकारको रोगको सूचीमा सुचित गरेको छ । यसको रोग पहिचान भएमा सरकारले विपन्नलाई एक लाख रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने गरेको छ । तर, समय समयमा रगत जाँच गर्नुपर्ने, रगत चढाउनुपर्ने, नियमित औषधी सेवन गर्नुपर्ने भएकाले विरामीहरुमा सरकारले दिने उक्त सुविधा प¥र्याप्त छैन ।
यो वंशागुणत रोग भएकाले सिकलसेल भएका बिरामीले विवाह गर्दा विशेष ध्यान पुर्याउनुपर्छ । विशेषगरि नेपालमा यसका विरामी थारु समुदायमा ज्यादा भएकाले विवाह गर्नुअघि रगत जाँच गर्न चिकित्सकहरु सुझाउँछन् । किनभने बुबा आमा दुबै यो रोगबाट संक्रमित छन् भने यो रोग सन्तानमा सर्न सक्ने सम्भावना ५० प्रतिशतसम्म हुन्छ ।
यस्ता आमाबुबाबाट जन्मिएका सन्तान सिकलसेलका बिरामी वा सिकलसेल रोग बोकेका हुन्छन् । अर्काथरी सन्तानले यस रोग अरुमा सार्नसक्ने सिकलसेल बाहक जिन बोकेका हुन्छन् । उनीहरुमा यो रोगको सङ्क्रमण हुँदैन तर उनीहरुले अरुमा सार्न सक्छन् । यस रोगबाट मुक्त हुन सिकलसेल रोग लागेका व्यक्तिले विवाह गर्न नहुने र सिकलसेल बाहक व्यक्तिले स्वस्थ व्यक्तिसँग मात्र विवाह गरेमा अर्को पुस्तामा सार्ने सम्भावना कम हुने चिकित्सकहरु बताउँछन् ।
प्रतिक्रिया