Logo

बाघको सङ्ख्या बढेसँगै नेपालमा बाक्लियो बाघको आक्रमणका घटना

काठमाडौं– पछिल्लो समयमा नेपालमा बाघको सङ्ख्या बढीरहँदा बाघको आक्रमणसमेत बढेको छ । पछिल्लो समय बाघ बस्तिमा पसेको तथा मानिसमाथि हमला गरेको घटनाहरुसमेत बढ्न थालेका छन् ।

चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै आज बिहान बिहान करिब साढे ५ बजे बाघले एक जनामा आक्रमण गरेको छ । बाघको आक्रमणबाट भरतपुर– २ बेलटाँडी बस्ने ६० पशुपती श्रेष्ठ घाइते भएका छन् ।

बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको मुख र हातमा चोट लागेको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गरेर खोजी भइरहेको छ ।

उता खोटाङको तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघ पस्दा आतङ्क बढेको जानकारी प्राप्त भएको छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन्।

बाघले गाउँमा हालसम्म मानवीय क्षति ननिम्त्याएपछि पशु चौपाया मारिरहेको त्यहाँका स्थानीयले बताएका छन् ।

गत बिहीबार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाह घाँस काटिरहेको समयमा बाघको आक्रमणमा परिन् र ज्यान गुमाइन् । सोपछि शुक्रबार हात्तीको प्रयोग गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, प्रहरी र सेनाले नरभक्षी बाघलाई नियन्त्रणमा लिए ।

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया,थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । सन् २०१० मा नेपालले २०२२ सम्म नेपालमा पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । २०१० मा १२१ रहेको बाघको सङ्ख्या २०२२ मा २५० बनाउने लक्ष्य सरकारले लिएको थियो । तर २०२२ मा लक्ष्यभन्दा बढी नेपालमा बाघको सङख्या ३५५ पुग्यो ।

लक्ष्यभन्दा बढी बाघको सङ्ख्या बढेपछि यसको उचित व्यवस्थापन नहुँदा मानव वस्तिमा यसको असर देखिएको छ । समयसमयमा बाघको हमलाबाट मानिसहरुले ज्यान गुमाउने क्रम बढिरहेको छ ।

बाघहरु जङ्गलमा रहँदा उनीहरु आफूले जङ्गल कब्जा गरेर बसेका हुन्छन् । एउटा बाघले कब्जा गरेको क्षेत्रमा अर्को बाघ बस्न पाउँदैन । त्यसैले धेरै बाघ भएसँगै उनीहरुको बासस्थानमा समस्यासमेत हुनेगर्छ । यसविषयमा सम्बन्धित निकायले ध्यान पुर्याउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्