भारतलाई भलिबल खेलमा कडा टक्कर दिएका नेपाली खेलाडीको मासिक तलब पाँच हजार मात्र


काठमाडौं– बुधबार भएको भलिबल प्रतियोगितामा भलिबल हेर्न रुची राख्ने र नराख्ने सबैको ध्यान त्रिपुरेश्वरतिर गएको थियो । किनभने त्यहाँ काभा वुमन्स नेसन्स लिगको फाइनल खेल भइरहेको थियो । त्रिपुरेश्वरस्थि राष्ट्रिय खेलकुद परिषद्को कर्बड हलमा हजारको सङ्ख्यामा समर्थकहरु उपस्थित भएका थिए । खेल हेर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई, काठमाडौं महानगरपालिका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायतका नेताहरु पनि पुगेका थिए ।

प्रधानमन्त्री केपि शर्मा ओलीपनि खेल हेर्न जाने कुरा भएको थियो तर मन्त्रीपरिषद्को आकस्मिक बैठकले उनी भने प्रतियोगितामा सहभागिता जनाउन सकेनन् । खेलमा नेपाल ३–२ को सेटमा पराजित भएको थियो । सोपछि धेरैले कम स्रोतसाधनका बाबजुद उत्कृष्ठ प्रदर्शन भन्दै महिला भलिबल टोलीको प्रशंसा गरेभने कतिपयले नेपालले सँधै मन जित्छ खेल जित्दैन भन्दै निराशा देखाए ।

भर्खरै सम्पन्न उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइलसम्मको यात्रा तय गरेको थियो । नेपालले लिग चरणमा भारत, माल्दिभ्स, श्रीलंकालाई राएको थियो भने इरानसँग पराजीत भएको थियो ।
तर इरानलाई सेमिफाइनलमा ३–० को सेटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा पनि नेपालले दक्षिण एसियाकै उत्कृष्ट टिम भारतलाई आच्छुआच्छु पारेको थियो ।

तर भारत र नेपालको खेलाडीको सेवा सुविधाको कुरा गर्ने हो भने आकाश जमिनको फरक छ । स्रोत साधनले सम्पन्न भारतका भलिबल खेलाडीहरुले साढे ४ देखि ७ लाख भारु तलबका बोनस पनि पाउँछन् । उनीहरुको अन्य सेवा सुविधापनि निकै राम्रो छ ।

यता नेपालको भलिबल खेलको कुरा गर्ने हो भने सरकारले भलिबललाई २०७४ जेठमा राष्ट्रिय खेल घोषणा गरेको छ । भलिबलमात्र त्यस्तो खेल हो जुन नेपालका ७७ जिल्लामा नै खेल्न सम्भव हुन्छ । तर राम्रो सुविधा भएको एउटा कर्बड हलसमेत नेपालमा छैन । बुधबार सम्पन्न भएको खेलमा पनि कबर्ड हलमा दर्शकहरु अटाएनन् । हजार दर्शक क्षमता मात्र भएको उक्त कबर्ड हलमा खेल हेर्नका लागि १५ सय रुपैयाँ टिकट शुल्क तोकिएको थियो । महँगो शुल्क तिर्नसमेत तयार भएर खेल हेर्न हजारौँ दर्शक पुगेका थिए तर टिकट नपाएपछि उनीहरु कबर्डहल बाहिर नै रोकिए ।

नेपालमा संघ सरकारले वार्षिक बजेट १२ देखि १५ करोड बजेट खेल क्षेत्रमा छुट्याउँछ। यो रकम प्रशासनिक खर्च र प्रतियोगिता आयोजनामै सकिने गरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । सरकारको बजेटमा खेलाडीहरुको तलब समावेश नै भएको हुँदैन । नेपाली भलिबल खेलाडी मासिक पाँच हजार तलब पाउँछन् । त्यो पनि अमेरिकामा रहेका नेपालीहरुबाट चन्दा उठाएर राखेपले खेलाडीलाई उपलब्ध गराउँदै आएको छ ।

खेलाडीहरुलाई खेलको अभ्यास गर्नको लागि पनि ठाउँ छैन । बुधबार खेल भएको कबर्डहलमा पनि भलिबल मात्र होइन, बास्केटबल र ब्याडमिन्टन लगायतका इन्डोर खेल पनि हुन्छन् । त्यसैले खेलाडीहरुले चाहेको बेलामा कबर्ड हलको प्रयोग गर्न पाउँदैनन् । तर अनेकौँ चुनौतीका बाबजुतपनि उत्कृष्ट खेल खेलेका नेपाली महिला भलिबल टोलीले राम्रो सेवा, सुविधा र मौका पाएमा अन्तराष्ट्रिय खेलमा कति प्रगती हाँसिल गर्लान भन्ने कल्पना गर्न सकिन्छ ।