नेपालमा बालिकाभन्दा बालकको जनसङख्या ३.६ प्रतिशतले बढी


काठमाडौं– नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार सार्वजनिक गरेको बालबालिकासँग सम्बन्धित तथ्यांकअनुुुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका रहेको देखिएको छ ।

यो नेपालको कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७९ जना रहेको छ ।

यस्तै १७ वर्षसम्मको बालबालिकामा बालकको संख्या बालिकाको भन्दा ३.६ लाखले धेरै देखिएको छ । कुल बालबालिकाको सङ्ख्यामा बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाखले धेरै देखिएको छ ।